

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनेरेशन जेड’ अर्थात् नयाँ पुस्ता देशको स्वाभिमान, कानून र राष्ट्रियता बुझ्न सक्षम रहेको भन्दै, उनीहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्न सक्ने सम्भावनाप्रति सचेत रहनुपर्ने बताएका छन्।
गोदावरीमा जारी विधान महाधिवेशनको समूहगत छलफलको प्रस्तुतीकरणपछि सम्बोधन गर्दै ओलीले सरकारले सामाजिक सञ्जाल बन्द गर्न खोजेको नभई दर्ता मात्र गराउन खोजेको बताए।
ओलीले भने, “अहिलेको पुस्ता देशको स्वाभिमान, कानून, राष्ट्रियता बुझ्न सक्षम छ। हामीले सामाजिक सञ्जाल बन्द गर्न खोजेको होइन, दर्तामात्र गराउन भनेका हौं। एक वर्षदेखि तारनतार ताकेता गर्दा पनि नमानेपछि अहिलेको अवस्था आएको हो। जेनेरेशन जेड पुस्तालाई दुरुपयोग गर्न सक्छन्, त्यसप्रति सचेत हुनुपर्छ।”
यसअघि नयाँ पुस्ताले सरकारको सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयको विरोधमा सडक आन्दोलनको तयारी गरिरहेको खबर आएको थियो।





Write your Comment