

गोदावरी, ललितपुर। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै राष्ट्रियताप्रतिको अडान स्पष्ट पारेका छन्।
उनले भने, “मलाई जतिसुकै हेपियोस्, सहन्छु। तर देशलाई हेप्न, होच्याउन पाइँदैन। हाम्रो स्वाभिमान माथि ठेस पुर्याउन पाइँदैन।”
सामाजिक सञ्जालसम्बन्धी विवादमा ओलीले वाक स्वतन्त्रता र कानूनको दायरा बीचको भिन्नता स्पष्ट पारे। उनले बताए, “हामी वाक स्वतन्त्रताका लागि बलिदान दिएर आएका हौं। त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु भए भन्ने भ्रम कसैमा नपरोस्। सामाजिक सञ्जाललाई दर्ता गराउन, कर तिर्न र कानूनको दायरामा आउन एक वर्षदेखि भनिरहेका हौं। तर अटेरी गरिरहेका छन्।”
उनले सामाजिक सञ्जाल बन्दबारे केही बुद्धिजीवीहरूले “वाक स्वतन्त्रता कुण्ठित भयो” भनी भ्रम सृजना गरेकोमा आश्चर्य व्यक्त गरे। ओलीले भने, “मुलुकको स्वाधीनता र राष्ट्रियताका लागि सरकारले सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनेको हो। कानूनको दायरामा आउन नसकेपछि सञ्चालन रोकिएको हो। तर केहीले यसको अर्थ नबुझेका छन्।”
उनले ‘जेनजी पुस्ता’बारे पनि स्पष्ट पार्दै भने, “कतिपयले जेनजी पुस्तालाई विद्रोह गराउने कुरा गर्छन्। तर जेनजी पुस्ता देश माया गर्छ, देशको कानून बुझ्छ र बेथिति तथा हेपाहा प्रवृत्तिको विरोधी हो।”
अन्ततः सबै राजनीतिक दलहरूलाई क्षणिक स्वार्थमा नलाग्न र राष्ट्रिय स्वाभिमान तथा स्वाधीनताको लागि एकताबद्ध हुन ओलीले आव्हान गरेका छन्।





Write your Comment