

काठमाडौं । जेनजी आन्दोलनका कारण उपत्यकाको सडक चाप क्रमशः बढ्दो छ । माइतीघर–नयाँ बानेश्वर क्षेत्र केन्द्रित प्रदर्शनले आवागमन प्रभावित बनाइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेल आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सहभागी हुन जाने भएका छन् ।
राष्ट्रपति पौडेल बिहान ११ बजे सुरु हुने कार्यक्रममा भाग लिन शीतल निवासबाट १०:४५ मा निस्कने तालिका छ । उनी १५ मिनेटभित्र भृकुटीमण्डप पुग्ने र दिउँसो १२ बजे फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरेका करिब १५ सय बिरामी र प्रत्यारोपणमा संलग्न चिकित्सकलाई सम्मान गरिनेछ ।
यसबीच, जेनजी आन्दोलनमा सहभागीको संख्या बढ्दै जाँदा माइतीघर–नयाँ बानेश्वर सडक खण्डमा डाइभर्सनको तयारी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै, राष्ट्रपतिको ‘सवारी ड्युटी’ का कारण महाराजगञ्ज–रत्नपार्क सडक खण्ड पनि करिब १५ मिनेट अवरुद्ध हुने छ । प्रहरी स्रोतका अनुसार सो अवधिको जामले उपत्यकाभरिको ट्राफिक व्यवस्थापनमा असर पार्ने अनुमान गरिएको छ ।





Write your Comment