

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी भदौ २९ गतेदेखि सेवा सुचारु गर्ने जनाएको छ। उपमहानगरपालिकाले शनिबार सूचना जारी गर्दै भदौ २४ गतेको आन्दोलनका क्रममा नगर कार्यलय तथा मातहतका केही वडा कार्यालयमा आगजनी हुँदा सेवाप्रवाहमा अवरोध भएको स्मरण गराउँदै अबदेखि अत्यावश्यक सेवासहित सम्पूर्ण सेवा पुनः सञ्चालनमा ल्याइने स्पष्ट पारेको हो।
सूचनाअनुसार राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा भने तत्कालका लागि सञ्चालन नहुने जनाइएको छ। बाँकी सम्पूर्ण प्रशासनिक कार्य तथा दैनिक सेवाहरू भने आईतबारदेखि नियमित रूपमा सुरु हुने बताइएको छ।
त्यसैगरी, उपमहानगरपालिकाले मातहतका सबै विद्यालय तथा शैक्षिक संस्थामा पनि भदौ २९ गतेदेखि पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ।
आन्दोलनका क्रममा क्षतिग्रस्त भएका वडा नं. ११, १२, १३, १४, १५ र १६ का कार्यालयहरूमा भने तत्काल दैनिक सेवाहरु सुचारु नहुने र सम्बन्धित वडा समितिको निर्णयपछि मात्र अर्को सूचना जारी गरी सेवा सुरु गरिने उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादले हस्ताक्षर गरिएको उक्त सूचनामा सेवाग्राहीलाई आवश्यक कार्यका लागि सम्बन्धित कार्यालयमा उपस्थित भई सेवा लिन आग्रह गरिएको छ।






Write your Comment