

सिमरा । भदौ २४ गते भएको आगलागी र तोडफोडका क्रममा उपमहानगरपालिका र मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था र सेवा केन्द्रमा रहेका विभिन्न सामग्री लुटपाट तथा चोरी भएको उपमहानगरपालिकाले जनाएको छ ।
प्रहरी र पालिकाको प्रारम्भिक अनुसन्धानबाट घटनामा गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर, स्क्यानर, सीसीटीभी, टेबुल, कुर्सी, दराज, भाँडाकुँडा तथा महत्वपूर्ण कागजातहरू नष्ट गरिनुको साथै चोरी भएका छन् । कर्मचारीका निजी सवारीसाधनहरू समेत क्षति पुगेका छन् ।
उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै यी सामग्रीहरू कसैको साथमा देखिएमा वा भेटिएमा पालिका, वडा कार्यालय, स्वास्थ्य संस्था वा सुरक्षा निकायमा बुझाइदिन आग्रह गरेको छ । साथै, कुनै जानकारी भएमा सम्बन्धित कार्यालयमा जानकारी गराउन अनुरोध गर्दै सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने प्रावधानसमेत उल्लेख गरिएको छ ।
पालिकाले चोरी वा हराएका सामग्रीको पुनः प्राप्तिका लागि नागरिक समुदायलाई सहयोग गर्न आग्रह समेत गरेको छ ।





Write your Comment