

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन-जी आन्दोलनका क्रममा बैंकका कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली सुरक्षित रहेको बताएका छन् ।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले देशभर ६८ वटा बैंक शाखामा आक्रमण भएको र ६९ वटा एटिएममा असर पुगेको जानकारी दिए । तर आन्दोलनकारीले बैंकलाई प्रत्यक्ष लक्ष्य भने नबनाएको उनको भनाइ थियो ।
“बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक छन्,” गभर्नर पौडेलले भने । “तर अहिलेको अवस्थामा सबैको मनोबल घटेको छ, त्यसलाई बढाउनु आवश्यक छ ।”
उनले यसअघि पनि विभिन्न चुनौतीका बाबजुद मनोबल उच्च बनाएर काम गर्नुपर्ने अवस्था रहेको भन्दै हालको घटनाबाट थप समस्या सिर्जना भए पनि समाधानका लागि तयारी गर्नुपर्ने बताए ।
अनुभवी अर्थमन्त्री पदभार ग्रहण गरिसकेकाले अब काम गर्न सहज हुने उल्लेख गर्दै गभर्नर पौडेलले “जे भएको छ त्यसबाट धेरै नआत्ती काम अघि बढाउनुपर्छ” भन्ने आग्रहसमेत गरे ।





Write your Comment