जेनजी आन्दोलनले तीन ठूला दलका मुख्यालय ध्वस्त

रातोघर

 २०८२ भाद्र ३१, मंगलबार  मा प्रकाशित
२४४ पाठक संख्या


काठमाडौं । भदौ २३ र २४ गते राजधानीमा भएको जेनजी आन्दोलन र त्यसपछिका तोडफोड तथा आगजनीबाट देशका ऐतिहासिक संरचना सहित ठूला राजनीतिक दलका मुख्यालयमा ठूलो क्षति पुगेको छ ।

देशमा फैलिएको बेथिति र व्यापक भ्रष्टाचारविरुद्ध उग्र रूपमा सुरु भएको जेनजी आन्दोलनले प्रमुख दलप्रति वितृष्णा प्रकट गरेको थियो । आन्दोलनकै क्रममा आन्दोलनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका मुख्यालयमा आगजनी र तोडफोड गरेका थिए ।

सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्णरूपमा ध्वस्त भएको छ । प्रवेशद्वारदेखि कार्यालयका अधिकांश कोठा जलेर खरानी बनेका छन् । कांग्रेसले आजदेखि प्रदेश र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण संकलन थाल्ने जनाएको छ ।

यस्तै, च्यासलस्थित नेकपा एमालेको मुख्यालय पनि खण्डहरमा परिणत भएको छ । आन्दोलनकारीले गरेको आगजनी र तोडफोडबाट अधिकांश संरचना ध्वस्त भएका छन् । सोमबार एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पार्टी कार्यालय पुगेर पुनः पार्टीको झण्डा फहराएका थिए ।

पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय पनि आन्दोलनकारीको आक्रमणपछि जलेर ध्वस्त भएको छ । अधिकांश संरचना आगलागीबाट पूर्णरूपमा नष्ट भएका छन् ।

अधिकारीहरूको भनाइमा, आन्दोलनले पार्टी मुख्यालयहरूमै नभई देशभरका भौतिक संरचनामा अनुमानै गर्न नसकिने क्षति पुर्‍याएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban