

हेटौंडा: बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्।
जेन–जी आन्दोलन चर्किँदै गएपछि पाठकले भद्र २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर, प्राविधिक कारणले तत्काल कानुनी प्रक्रिया पूरा गर्न नसकिने भएकाले आज उनले औपचारिक रूपमा संविधान र प्रदेश सभा नियमावली, २०७४ अनुसार लिखित राजीनामा पेश गरेका छन्।
पाठकले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन्, “गत भाद्र २३ गते जेन–जी आन्दोलनको क्रममा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगका कारण अनावश्यक रूपमा राष्ट्रवादी नेपालीहरूले सहादत प्राप्त गरेपछि म अत्यन्त भावविव्हल भएँ। राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तरात्मा मलाई लाग्यो। त्यसैले भाद्र २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेँ।”
आज उपसभामुख अप्सरा चापागाईंलाई लिखित पत्र व्हाट्सएपमार्फत पठाएर औपचारिक प्रक्रिया पूरा गरेको पाठकले जनाएका छन्।
यस कदमसँगै बागमती प्रदेशको राजनीतिक वातावरणमा नयाँ अवस्था सिर्जना भएको छ, र सभामुखको रिक्त स्थानका लागि उपयुक्त प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।





Write your Comment