

काठमाडौं: विषम परिस्थितिका बाबजुद सरकारले संविधान दिवस यस वर्ष पनि औपचारिकरूपमा मनाउने भएको छ। विगतका वर्षजस्तै, २०७२ असोज ३ गते जारी भएको संविधानको स्मरणमा समारोह आयोजना गरिने व्यवस्था भएको हो।
परम्पराअनुसार संविधान दिवसको मुल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री हुने भएकाले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा समिति गठन गरिएको थियो। उक्त समिति बैठक सम्पन्न भइसकेको र बैठकले राज्यका सबै निकायलाई संविधान दिवस मनाउन परिपत्र जारी गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
समारोहको आयोजनामा सैनिक मञ्च, टुडिखेलमा विशेष कार्यक्रम आयोजना हुने गृह मन्त्रालयका सहसचिव तथा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीले जानकारी दिनुभयो। समारोहमा उपस्थितिका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक परिषद्का पदाधिकारी तथा विशिष्ट व्यक्तिलाई गृह मन्त्रालयले पत्राचार गरिसकेको छ।
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीसँग समन्वय गरी संविधानसँग सम्बन्धित विभिन्न कार्यक्रम तय गरिएको सहसचिव तिवारीले बताए। संविधान दिवसको मुख्य समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परालाई निरन्तरता दिँदै प्रधानमन्त्री कार्कीले यस वर्षको समारोहमा सम्बोधन गर्नुहुनेछ। कार्यक्रमको प्रधान अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन्।
मुल आयोजक समितिमा नेपाल सरकारका मन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, उपत्यकाका नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ। समितिको सदस्य सचिव गृह सचिव रहने व्यवस्था छ।
काठमाडौं उपत्यका बाहिरका जिल्ला सदरमुकाममा संविधान दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समितिहरू गठन हुने व्यवस्था गरिएको छ। त्यस्तै, स्थानीय तहमा सम्बन्धित नगर/गाउँपालिका प्रमुख तथा अध्यक्षको अध्यक्षतामा आयोजक समिति रहने व्यवस्था गरिएको छ।
यसरी संविधान दिवसको औपचारिक कार्यक्रम देशव्यापी रूपमा आयोजना गरी संविधानको महत्वलाई स्मरण गरिने व्यवस्था गरिएको छ।





Write your Comment