

काठमाडौं । अन्तरिम सरकारलाई पूर्णता दिनका लागि विभिन्न क्षेत्रका विज्ञहरूलाई मन्त्री बन्न आग्रह गरिएको भए पनि कतिपयले अस्वीकार गरेका छन् । स्वास्थ्यमन्त्री बन्न अफर पाएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले आफू इच्छुक नरहेको स्पष्ट पारेका छन् ।
सरकारको तर्फबाट र गठनमा संलग्न व्यक्तिहरूले बारम्बार आग्रह गरे पनि डा. कोइरालाले यसपटक मन्त्री बन्न अनिच्छा देखाएका संवादमा सहभागीहरूले बताएका छन् । उनलाई पहिलो चरणमै अफर गरिएको भए पनि बाल अस्पताल निर्माण अभियानमा जुटिरहेका कोइरालाका ठूला दातामध्ये भाटभटेनी आन्दोलनकारीद्वारा ध्वस्त भएपछि उनले अझै स्पष्ट रूपमा मन्त्री पद अस्वीकार गरेको अनुमान गरिएको छ । साथै, जेनजी आन्दोलनकारीमध्येकै केहीले उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेको आरोप लगाएका थिए ।
त्यस्तै, आविष्कार केन्द्रमार्फत काम गर्दै आएका महावीर पुनलाई पनि मन्त्री बन्न अफर गरिएको छ । उनले भने विज्ञान तथा प्रविधि मन्त्रालयलाई अलग्याएर जिम्मेवारी दिनुपर्ने सर्तसहित इच्छा व्यक्त गरेका छन् । अहिले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय एउटै रहेकाले यसलाई फुकाउनुपर्ने हुन्छ भन्ने उनको तर्क रहेको स्रोतले जनाएको छ ।
यसबीच, मन्त्री बन्न अस्वीकार गर्ने र खोज्नेहरूको लर्को बढेसँगै प्रधानमन्त्री सुशीला कार्की दबाबमा परेकी छन् । जेनजीका नाममा विभिन्न समूहले भागबन्डा मागिरहेका छन् भने मेयर बालेन साहले आफ्ना तर्फबाट गृहमन्त्री बनाएको भन्दै अन्य समूहहरूले पनि आ–आफ्नो हिस्सा मागेका छन् ।
प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरे पनि ढिलाइ भइरहेकाले उनीमाथि दबाब चर्किएको छ । निकट स्रोतका अनुसार, केही विज्ञ, पूर्वप्रशासक र जेनजी प्रतिनिधिलाई समेत समेटेर सरकारलाई पूर्णता दिने र न्यायिक छानबिन आयोग गठन गर्ने तयारी भएको छ । यसै सन्दर्भमा आजै मन्त्रिपरिषद बैठक बसेर आयोग गठन गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।





Write your Comment