काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पुनर्गठनको मुद्दा उठाइरहेका महामन्त्री गगन थापामाथि तीव्र असन्तुष्टि जनाएका छन् । उनले अहिलेको संवेदनशील अवस्थामा नेतृत्व परिवर्तनको बहस गर्नु अनुचित भएको भन्दै आक्रोश पोखेका हुन् ।
आन्दोलनमा जलाइएको आफ्नै घरको भग्नावशेषबाट सम्बोधन गर्दै महतले गगनको नाम नलिईकनै प्रहार गरे । “अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो । तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ,” उनले भने ।
उनले सभापति शेरबहादुर देउवा उपचारमै रहेका बेला नेतृत्व परिवर्तनबारे बहस उठाउनु असमय भएको बताए । “२३ गतेभन्दा चार दिन अघि त्यही सभापति अत्यन्तै ठिक हुने, सबैभन्दा नजिक हुने, तर अहिले अचानक प्रश्न उठाउने ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा पर्खन पनि नसक्ने ?” महतको प्रश्न थियो ।
उनका अनुसार नयाँ परिस्थिति बनेपछि पार्टीभित्र गम्भीर छलफल र मूल्यांकन अवश्य हुने तर तत्काल निर्णय समितिको आधिकारिक प्रक्रियाबाटै हुनुपर्ने हो । “छुट्टै बहस थालेर पार्टीलाई कमजोर बनाउने काम गर्न मिल्दैन,” उनले चेतावनी दिए ।








Write your Comment