

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रोशित प्रदर्शनकारीले कान्तिपुर मिडिया ग्रुपलाई मुख्य निशाना बनाए । आन्दोलनकै बीच कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकका कार्यालयमा आगजनी र तोडफोड भएपछि कान्तिपुर टेलिभिजन तत्कालै बन्द हुनुपरेको थियो । तर, २७ घण्टापछि भग्नावशेषमैबाट पुनः प्रसारण सुरु गर्न सफल भएको छ ।
त्यो दिनको भयानक अनुभवलाई कान्तिपुर टेलिभिजनका डेपुटी न्यूज चिफ रुपेश श्रेष्ठले हेमिङ्वेको प्रसिद्ध पंक्ति उद्धृत गर्दै सम्झिए – “मान्छे विनष्ट हुन सक्छ, तर पराजित हुन सक्दैन।”
श्रेष्ठका अनुसार आन्दोलनकै प्रत्यक्ष प्रसारण भइरहेकै बेला भीडले कार्यालयमा आक्रमण गर्यो । खुकुरी, लाठी, पेट्रोल र पेस्तोलसहितको भीडले कर्मचारीहरूलाई लक्षित गर्दै आक्रमण गर्दा आफू सहितका पत्रकार ज्यान जोगाउन बाध्य भएका थिए । श्रेष्ठमाथि शारीरिक आक्रमण समेत भयो, उनको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लाग्यो । कार्यालयमा रहेका मोटरसाइकल र गाडीहरू जलाइए, जसमा उनको पनि गाडी खरानी भएको उनले स्मरण गरे ।
तर, चुनौतीका बाबजुद पत्रकारहरूले हिम्मत हारेनन् । ७२ घण्टापछि अर्थात् भदौ २७ गते अपरान्ह पुनः प्रसारण सुरु भयो । ढोका फुटाउँदा हातमा चोट पाएका विजय पौडेलले पहिलो समाचार पढे भने अरू पत्रकार, क्यामराम्यान, इन्जिनियर र प्राविधिकहरू आ–आफ्नो काममा खटिए ।
श्रेष्ठ भन्छन्, “ती आतंकीहरूले भौतिक सम्पत्ति नष्ट गरे, तर हाम्रो मनोबल भत्काउन सकेनन् । सुन्निएको अनुहार बोकेरै पाँच घण्टापछि म पनि प्रसारणमा मिसिएँ।”
उनका अनुसार, मुस्कुराउँदै प्रसारणमा फर्केर “कान्तिपुर समाचारमा स्वागत छ” भन्ने क्षण नै पत्रकारहरूको अदम्य विश्वास र प्रतिबद्धताको प्रतिक बन्यो ।





Write your Comment