शिक्षामन्त्री पुनले भने– ‘क्वाटर र सुरक्षा चाहिँदैन, मन्त्रालयमै बस्छु’

रातोघर

 २०८२ आश्विन ७, मंगलबार  मा प्रकाशित
१५४ पाठक संख्या


काठमाडौं । नव नियुक्त शिक्षामन्त्री महावीर पुनले आफूलाई सरकारी क्वाटर र विशेष सुरक्षा आवश्यक नपर्ने बताएका छन् । पदभार ग्रहण गरेलगत्तै सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रालयकै एक कोठामा बस्ने इच्छा व्यक्त गरे ।

पुनले भने, “मेरो त जहाँ काम हुन्छ त्यहीँ बस्ने बानी छ । मन्त्रालयमै एउटा सानो कोठा बनाइदिनुस्, त्यहीँ खाट राख्छु, एउटा कुर्सी चाहिन्छ, किचन चाहिन्छ । म आफैं पकाएर खान्छु ।”

उनले सरकारी आवास माग्ने वा व्यक्तिगत सुविधाको पछि लाग्ने सोच नरहेको प्रष्ट पारे । पत्रकारले ‘अहिले त तपाईँसँग क्वाटर छैन, कहाँ बस्नुहुन्छ त ?’ भन्ने प्रश्न गर्दा पुनले सहज शैलीमा “मन्त्रालयमै बस्छु” भनेर जवाफ दिएका थिए ।

पदभार ग्रहणसँगै उनले आफूले विगतमा सञ्चालन गर्दै आएको आविष्कार केन्द्रबाट राजीनामा गरिसकेको जानकारी पनि दिए । “यो पद ग्रहण गरेपछि आविष्कार केन्द्रमा रहन मिल्दैन, त्यसैले म राजीनामा दिइसकेको छु,” उनले भने ।

त्यसैगरी, सुरक्षा व्यवस्थाबारे पनि उनी स्पष्ट भए । पुनका अनुसार मन्त्रालय आउँदा एउटा प्रहरी र एउटा सैनिकलाई सुरक्षा रूपमा पठाइएको रहेछ । तर उनले दुवैलाई कमाण्डरलाई रिपोर्ट गरेर फर्किन भनेका छन् । “म यहाँ बस्दासम्म यहीँ रहौं, तर बाहिर निस्कँदा पछि पछि आउनु पर्दैन,” उनले भने ।

मन्त्रालयको गाडी भने उनले औपचारिक कामका लागि मात्र प्रयोग गर्ने बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban