

सिड्नी । जेनजी आन्दोलनपछि अभिनेता राजेश हमाल अष्ट्रेलिया भ्रमणमा व्यस्त छन् । उनको भ्रमणको मुख्य उद्देश्य टेलिभिजन शो **‘यो नेपाली शीर उचाली’**को दोस्रो सिजन छायांकन गर्ने हो । हाल शोको छायांकन अष्ट्रेलियाका विभिन्न स्थानमा भइरहेको छ । त्यस्तै, उनले स्थानीय नेपाली समुदायले आयोजना गरेका सांस्कृतिक तथा सामाजिक कार्यक्रममा पनि सहभागिता जनाइरहेका छन् ।
यसैबीच, स्वदेशमा भने उनको नाम सामाजिक सञ्जालमा नयाँ रुपमा चर्चा पाइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई अन्तरिम सरकारको परराष्ट्रमन्त्रीको सम्भावित उमेदवारका रूपमा अगाडि सारेका छन् । “अबका परराष्ट्रमन्त्री राजेश हमाल” भन्दै उनका समर्थकहरूले उनको नाम व्यापक रूपमा सेयर गरिरहेका छन् ।
हुन पनि, हमाल पूर्वराजदूत चुडाबहादुर हमालका छोरा हुन् । आफ्ना बुवाको कूटनीतिक सेवाकालमा उनले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति नजिकबाट नियाल्ने अवसर पाएका थिए । यही कारणले उनलाई परराष्ट्र मामिलामा चासो हुने गरेको देखिन्छ । अन्तर्वार्तामा पनि उनले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे आफ्ना धारणा व्यक्त गर्ने गरेका छन् । यसबाहेक, राजनीतिमा प्रवेश गर्ने इच्छा उनले सार्वजनिक रूपमा पटक–पटक प्रकट गरिसकेका छन् ।
तर, परराष्ट्रमन्त्रीका रूपमा आफ्नो नाम अगाडि आएको प्रसंगबारे अनलाइनखबरसँग कुरा गर्दै हमालले भने आफू त्यस्तो भूमिकामा तयार नरहेको स्पष्ट संकेत दिएका छन् । उनले हाँस्दै भने, “लामो यात्रा पार गर्नुछ, यो चुनावी सरकार हो । म मन्त्री बन्नेतिर लाग्दिन, अहिले काममै व्यस्त छु ।”





Write your Comment