

विराटनगर । विराटनगर महानगरपालिका–९ धोवियारीकी २९ वर्षीया रागिनी साहमाथि आफ्नै देवरले तेजाब प्रहार गरेका छन् । मोरङ प्रहरीले दिएको जानकारीअनुसार सोमबार बिहान करिब १०:१५ बजे घरायसी विवादका क्रममा २२ वर्षीय श्रवण साहले भाउजू रागिनीमाथि तेजाब प्रहार गरेका हुन् ।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार घटनापछि श्रवण फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन गरिएको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार श्रवण भारततिर भागेको हुनसक्छ ।
तेजाब प्रहारबाट रागिनीको अनुहारमा चोट लागेको छ तर आँखा भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरियो । चिकित्सकहरूले उनको अवस्था खतरामुक्त रहेको बताएका छन् ।
डीएसपी चुँडालका अनुसार लेनदेनसम्बन्धी विवादकै कारण देवरले भाउजूमाथि यस्तो कृत्य गरेका हुन् ।
विशेषज्ञहरूले तेजाबलाई मानव शरीरका लागि अत्यन्त खतरनाक रसायन मानेका छन् । छालामा पर्नासाथ पोल्ने, पिल्साउने, दृष्टि गुम्ने र दीर्घकालीन नोक्सान पुर्याउने खतरा हुन्छ । नेपालको कानुनले तेजाब आक्रमणलाई गम्भीर र दण्डनीय अपराधको रूपमा व्याख्या गरेको छ ।





Write your Comment