झ्यापझ्याप बत्ती जाने समस्या समाधानमा मन्त्री घिसिङ र नयाँ कार्यकारी निर्देशक सिलवाल सक्रिय

रातोघर

 २०८२ आश्विन ८, बुधबार  मा प्रकाशित
२१८ पाठक संख्या


काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्य गराउने श्रेय पाएका कुलमान घिसिङ अहिले ऊर्जामन्त्रीको रूपमा कार्यरत छन् । उनी मन्त्री बनेपछि फेरि लोडसेडिङ फर्किने डर जनतामा छैन । तर पछिल्ला केही दिन देखिएको ‘झ्यापझ्याप’ बत्ती जाने समस्याले भने जनतालाई पुनः असहज बनाइरहेको छ ।

ऊर्जामन्त्री भएपछि घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हितेन्द्र शाक्यलाई हटाई मनोज सिलवाललाई नियुक्त गरेका छन् । सिलवालले हिजो मात्रै पदभार ग्रहण गरेका हुन् । हितेन्द्रको कार्यकालमा पनि बत्ती झ्यापझ्याप गइरहेको भन्दै आलोचना भएको थियो । तर, उनी हटेपछि पनि समस्या समाधान नभएपछि प्राधिकरणलाई लक्षित असन्तोष अझै देखिएको छ ।

नव–नियुक्त कार्यकारी निर्देशक सिलवालले कमजोर प्रसारण प्रणालीका कारण यस्तो समस्या आइरहेको बताएका छन् । उनका अनुसार, हिजो राति मोतीपुरबाट आउने लाइन ट्रिपिङ हुँदा काठमाडौंमा करिब १० मिनेट बत्ती गएको थियो । त्यस्तै, तराईतर्फको प्रसारण लाइनमा पनि समस्या देखिएकाले करिब २० मिनेट त्यहाँका धेरै स्थानमा बत्ती निभेको उनले बताए ।

सिलवालले भने, “हाम्रो प्रणाली नै कमजोर भएकाले कुनै एक स्थानमा समस्या आए पनि त्यसको प्रभाव धेरै ठाउँमा पर्छ । यही कारणले झ्यापझ्याप बत्ती जाने समस्या देखिन्छ ।” उनले पदभार ग्रहण गरेलगत्तै ग्राहक सेवा तथा वितरण केन्द्र निर्देशनालयका कर्मचारीहरूसँग बैठक गरी यस समस्या समाधानमा तत्काल काम गर्न निर्देशन दिएको जानकारीसमेत दिए ।

०५१ सालमा पाँचौँ तहबाट प्राधिकरणमा प्रवेश गरेका मनोज सिलवाल १२औँ तहबाट २०८१ माघमा अवकाश लिएका थिए । वितरण तथा ग्राहक सेवा निर्देशनालयमा लामो अनुभव संगालेका उनी पनि कुलमान र हितेन्द्रजस्तै दक्ष इन्जिनियरका रूपमा चिनिन्छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban