

सिरहा । नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम रु ४४ करोड नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्मको तथ्याङ्कअनुसार बाँकी बक्यौता रु ४४ करोड ९२ लाख ५७ हजार १८४ पुगेको प्राधिकरणले जनाएको छ ।
बक्यौता असुल गर्न प्राधिकरणले विद्युत् लाइन काट्ने अभियान सञ्चालन गरेपछि हालसम्म रु १७ लाख ३२ हजार ३१२ सङ्कलन भएको छ । वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहकहरूले ठूलो मात्रामा रकम तिर्न बाँकी छ ।उनका अनुसार कृषि सिँचाइ मिटरअन्तर्गत लहान नगरपालिकाले मात्रै रु एक करोड ३९ लाख ८७ हजार ६२२ तिर्न बाँकी छ । गत असार २५ गते नगरपालिकालाई पत्र पठाइए पनि हालसम्म कुनै भुक्तानी नभएको उनले बताए ।
प्राधिकरणको नियमअनुसार उपभोक्ताले ६० दिनभित्र महसुल तिर्नुपर्ने व्यवस्था भए पनि लहान वितरण केन्द्रमा औसतमा नौ महिनासम्म पनि बक्यौता असुल हुन नसकेको गुप्ताले बताए । “अब बाँकी रकम असुल गर्न लाइन काट्नुबाहेक अर्को विकल्प छैन,” उनले भने ।यसैबीच, विद्युत् चुहावट दर पनि बढ्दै गएको छ । आव २०८०/८१ मा ३१.६५ प्रतिशत रहेको चुहावट दर आव २०८१/८२ मा बढेर ३८.१० प्रतिशत पुगेको थियो । चालु आवको साउन मसान्तसम्म यो दर झन् बढेर ४४.४६ प्रतिशत पुगेको प्रमुख गुप्ताले जानकारी दिए ।
प्राधिकरणले यस अवधिमा ७०३ जना ग्राहकलाई कारबाही गरी रु ३१ लाख ५४ हजार २२५ चुहावट महसुल असुल गरेको पनि लहान वितरण केन्द्रले जनाएको छ ।
सिरहामा हाल लहान, मिर्चैया र सदरमुकाममा गरी तीन वटा वितरण केन्द्र सञ्चालनमा छन् । लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका र बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी, नवराजपुर तथा भगवानपुर गाउँपालिका पर्दछन् ।





Write your Comment