अमेजन जंगलमा ११ दिनसम्म संघर्ष गरेर बाँच्न सफल साहसी युवती जुलियाना

रातोघर

 २०८२ आश्विन ९, बिहिबार  मा प्रकाशित
३८६ पाठक संख्या


काठमाडौं । संसारकै खतरनाक मानिने ‘अमेजन’ जंगलमा विमान दुर्घटनापछि खसेकी एक किशोरीले ११ दिनसम्म संघर्ष गरेर जीवन जोगाउन सफल भएको वास्तविक कथा सार्वजनिक भएको छ ।

सन् १९७१ डिसेम्बर २४ मा १७ वर्षीया जुलियाना कोयप्के आफ्नी आमासँग पेरुको राजधानी लिमाबाट पुकाल्पा जाँदै गर्दा उनी सवार विमान भीषण आँधी–तुफानमा पर्‍यो । चट्याङ लागेपछि विमान टुक्राटुक्रा हुँदा उनका आमा सहित ९२ यात्रुको मृत्यु भयो । तर जुलियाना भने सिटसहित करिब १० हजार फिट तल खस्दा रुखहरूले अड्याइदिँदा जीवित बचिन् ।

उक्त दुर्घटनामा काँधमा गहिरो चोट, शरीरभरि निलडाम र आँखा तथा टाउकोमा चोट लागेकी जुलियाना घाइते अवस्थामा अमेजनको घना जंगलमा परेकी थिइन् । विषालु सर्प, अनकन्टार झाडी र जंगली जनावरका कारण खतरनाक मानिने अमेजन जंगलमै उनले जीवन रक्षा गर्नुपर्ने अवस्था आयो ।

सामान्य उमेरमै बाबुआमाबाट प्राप्त जीवविज्ञान र जंगलसम्बन्धी ज्ञानले उनलाई बाँच्न मद्दत गर्‍यो । खोलाको पानी पिउने, खान मिल्ने कन्दमूल चिनेपछि भोक मेट्ने र खोला पछ्याउँदै बस्ती पुग्ने उपाय उनले प्रयोग गरिन् । जंगली जनावरबाट बच्न खुला ठाउँ रोजेर रात बिताउने गर्थिन् ।

दुर्घटनापछि एघार दिनसम्म घनघोर जंगलमा संघर्ष गर्दा थाकेको र घाइते शरीर बोकेर पनि उनले हिम्मत हारेनन् । अन्ततः ११औँ दिनमा जंगलमा काठ काटिरहेका मानिसहरूले उनलाई भेटेर उद्धार गरे ।

जुलियानाको यो अदम्य साहसले उनलाई इतिहासकै असम्भव अवस्थाबाट बाँचेकी युवतीका रूपमा परिचित गराएको छ । पछि उनले आफ्ना अनुभव समेटेर ‘When I Fell from the Sky’ नामक पुस्तक लेखिन् । उनको जीवनमा आधारित वृत्तचित्रहरू पनि बनेका छन्, जुन युट्युबलगायत विभिन्न माध्यममार्फत उपलब्ध छन् ।

हाल जीव विज्ञान पढेकी जुलियाना जर्मनीमा बसोबास गर्छिन् । उनको वास्तविक जीवनकथाले कठिन परिस्थिति सामना गर्ने साहस, आत्मबल, धैर्यता र आशाको महत्वबारे गहिरो सन्देश दिन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban