

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने सरकारको दृढ प्रतिवद्धता व्यक्त गरेकी छन् ।
बिहीबार सिंहदरबारबाट राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सरकार जिम्मेवार रहने बताइन् । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको समेत उनले जानकारी दिइन् ।
युवापुस्ताको मागअनुसार योग्य उम्मेदवारलाई विजयी बनाउन सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दै उनले निर्वाचनमार्फत मात्र संविधान संशोधन सम्भव हुने स्पष्ट गरिन् । आन्दोलनमार्फत उठाइएका कतिपय विषय संवैधानिक प्रक्रियाबाटै समाधान गर्न सकिने उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मूल मुद्दा सुशासन र भ्रष्टाचारविरोध भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताइन् । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीप्रति भत्र्सना गर्दै उनले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाइन् ।
उनले नागरिकलाई विना झन्झट सेवा प्रवाह गर्ने, भ्रष्टाचार न्यूनीकरण गर्ने, विधिको शासन र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्ने उल्लेख गरिन् । सेवाग्राहीसँग ढिलासुस्ती, मोलमोलाइ, घुस माग्ने वा अपमानजनक व्यवहार गरे उजुरी गर्न सकिने व्यवस्था मिलाइएको समेत उनले स्मरण गराइन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा आन्तरिक सरकार गठन भएको थियो । त्यसैबेलादेखि उनी निर्वाचन गराउने जिम्मेवारीसहित कार्यरत छिन् ।





Write your Comment