रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग मर्मत कार्य आज सकिने

रातोघर

 २०८२ आश्विन २३, बिहिबार  मा प्रकाशित
२३६ पाठक संख्या


रामेछाप । असोज १७, १८ र १९ गतेको लगातार वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग मर्मत तथा पुनःनिर्माण कार्य आज सकिने भएको छ।

सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेका अनुसार बाढीले सडक बगाएको स्थानमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

न्यौपानेले बाढीले क्षति पुर्‍याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको जानकारी दिँदै चौकीडाँडा र नेपालथोकका ठूला डाइभर्सन निर्माण सम्पन्न भइसकेको बताए। बाँकी क्षति पुगेका स्थानहरूमा पनि काम तीव्र रूपमा जारी रहेको उनले बताए।

“सम्भवतः भोलि साँझसम्म, नभए पर्सि बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने सम्भावना छ,” न्यौपानेले भने।

लगातार वर्षाका कारण रोशी खोलाले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न स्थानमा सडकका भाग बगाएको थियो। दुवैतर्फबाट डाइभर्सन निर्माण गरी पानीलाई अन्यत्र मोड्दै सडक मर्मत कार्य भइरहेको विभागले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban