

जनकपुरधाम । मधेश प्रदेशमा सत्तासत्तारोहणको नयाँ समीकरण बनेको छ । नेपाली कांग्रेस र एमालेलाई विपक्षमा राख्दै पाँच दल मिलेर सरकार गठनमा सहमति जुटाइएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति भएको माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता युवराज भट्टराईले जानकारी दिएका छन् ।सरकार गठनका लागि जसपा नेपाल (उपेन्द्र यादव समूह), जनमत पार्टी (सीके राउत समूह), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपाबीच सहमति बनेको हो ।जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र बहुमतको दाबी पेश गर्न आह्वान गर्दै सूचना जारी गरेकी थिइन् ।भट्टराईका अनुसार ५६ जना सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी पेश गर्न तयारी गरिएको छ ।
सहमति जुटाउन बसेको निर्णायक बैठक लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा सम्पन्न भयो । बैठकमा जसपाबाट मनिष सुमन, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका नेता युवराज भट्टराई, लोसपाका संसदीय दलका नेता जैलुनराइन र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोबिन्द बहादुर न्यौपाने सहभागी थिए ।
मधेश प्रदेशसभामा कुल १०७ सिट छन् । सरकार बनाउनका लागि ५४ सिट चाहिन्छ । जसपा नेपालको १९ सिट, जनमतको १३, माओवादी र लोसपाका ९–९ तथा एकीकृत समाजवादीको ७ सिट रहेकाले पाँच दलको संयुक्त अंक ५७ हुन्छ । तर लोसपाका एक सांसद निलम्बित भएकाले बहुमत ५६ मा सीमित छ ।





Write your Comment