

काठमाडौं । काठमाडौं महानगरपालिकाले एनएफसी (NFC) चिप प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली लागू गर्दै सेवा प्रवाहको शैलीलाई आधुनिक रूप दिएको छ। यस प्रणालीमार्फत अब प्रत्येक घर वा संरचनाको ठेगाना डिजिटल रूपमा पहिचान गर्न सकिनेछ, जसले प्रशासनिक कामकाजदेखि नागरिलाई प्रदान गरिने आधारभूत सेवासम्म सबै प्रक्रियालाई छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।
महानगरले जडान गरेको विशेष नम्बर प्लेटमा एनएफसी चिपसँगै क्युआर (QR) कोड पनि राखिएको छ, जसलाई स्क्यान गरेर कुनै पाहुनाले डोरबेलको रूपमा समेत प्रयोग गर्न सक्ने सुविधा दिएको छ। यस्तै, फोहर संकलनको सूचना लिन, स्थानीय तहबाट सर्वेक्षण सञ्चालन गर्न वा आवश्यक सूचना घरमै पुर्याउन यसै प्रणालीको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।
विपद् वा आकस्मिक घटनाका बेला खोज तथा उद्धार टोलीलाई लक्षित घर वा स्थान चाँडै पहिचान गर्न यस प्रणालीले सहयोग पुर्याउने महानगरको दाबी छ। डिजिटल ठेगाना व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके काठमाडौं पूर्ण रूपमा स्मार्ट सिटीको दिशामा अघि बढ्ने विश्वास लिइएको छ।





Write your Comment