

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न स्वास्थ्य प्रशासनलाई निर्देशन दिएकी छन्।
आफैँले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनको कारण बुझेर तत्काल समाधानका लागि कदम चाल्न भनेकी हुन्। उनले प्रगतिबारे आफूलाई नियमित रूपमा जानकारी गराउन पनि निर्देश दिइन्।
प्रधानमन्त्री कार्कीले देशमा रहेका दक्ष स्वास्थ्य जनशक्तिलाई न्यून पारिश्रमिकमा काम गर्न बाध्य राख्नु अनुचित भएको बताउँदै समस्या समाधान नभए नर्सहरू विदेशिने जोखिम बढ्ने चेतावनी दिइन्।
हाल कास्कीस्थित मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू पाँचौँ तह बराबरको पारिश्रमिकको माग गर्दै आन्दोलनमा छन्। स्वास्थ्य मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक रु. ३४ हजार ७३० निर्धारण गरेको निर्णय गरेको भए पनि केही संस्थाले अझै कार्यान्वयन गरेका छैनन्।





Write your Comment