


बारा-देश राजनीतिक संक्रमण, अविश्वास र निराशाको चरणबाट गुज्रिरहेका बेला निजगढ क्षेत्रबाट उदाएका सन्तोष दंगाललाई केवल उम्मेदवारका रूपमा हेर्नु सतही विश्लेषण मात्र हुन्छ। उनी आजको राजनीतिमा दुर्लभ मानिने “कामबाट परिचित” अनुहारका रूपमा स्थापित हुँदै गएका छन्। यही कारण पछिल्लो समय चुनावी मैदानमा उनको उपस्थितिलाई धेरैले गम्भीर रूपमा लिन थालेका छन्।
२०४२ साल वैशाख २३ गते निजगढ साविक वडा नं। ७ मा जन्मिएका दंगाल सामान्य परिवार पृष्ठभूमिबाट आएका व्यक्ति हुन्। आमा यानुमाया र बुवा सिताराम दंगाललको संस्कार, अनुशासन र श्रम संस्कृतिले उनलाई प्रारम्भदेखि नै जमिनसँग जोडिएको बनायो। स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका दङालको राजनीतिक चेतना भने कक्षाकोठामा सीमित रहेन, यो व्यवहारमा देखियो। उनको राजनीतिक यात्रा २०६७ सालमा कर्मचारी संघबाट सुरु हुनु संयोग थिएन। त्यतिबेला संगठन कमजोर, आवाज दबिएको र नेतृत्वमा सुविधावाद हावी भइरहेको अवस्था थियो। सोही समयमा दंगालले श्रमिक अधिकार र संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेले। यही पृष्ठभूमिले उनलाई “बोल्न सक्ने मात्र होइन, उभिन सक्ने नेता” का रूपमा चिनायो।
२०६८ सालमा वैदेशिक रोजगारीका लागि कतार पुगे पनि उनी राजनीति र समाजबाट टाढा भएनन्। २०६९ सालमा जनप्रगतिशील मञ्च कतारको सचिव बनेपछि उनको भूमिका झनै स्पष्ट भयो—समस्यामा परेका नेपाली श्रमिकका पक्षमा बोल्ने, आवश्यक पर्दा उद्धारसम्म पुग्ने। विदेशमा बसेर पनि मातृभूमिसँग जोडिएर काम गर्ने नेताहरू कमै हुन्छन्, दंगाल त्यो अपवाद बने।
स्वदेश फर्किएपछि उनले गरेको सामाजिक हस्तक्षेप अझ व्यावहारिक देखिन्छ। सिँचाइ आयोजनामा योगदान, किसानको उत्पादनसँग जोडिएका पहल, निजगढ विद्युतिकरणका लागि निरन्तर दबाब, र पर्यटन सम्भावनालाई कागजमा होइन, व्यवहारमा उतार्ने प्रयास—यी सबै कामले उनलाई “भाषणमुखी राजनीतिज्ञ” को सूचीबाट अलग राख्छ।
आज निजगढमा कसैलाई समस्या पर्दा लिइने पहिलो नाम सन्तोष दंगाल हुनु आफैँमा ठूलो राजनीतिक पूँजी हो। उनले जीवनभर कहिल्यै अन्यायसँग सम्झौता नगरेको दाबी होइन, व्यवहारले प्रमाणित गरेको तथ्य हो। यही कारण उनी युवामाझ मात्र होइन, अनुभवी वर्गमा पनि स्वीकार्य बन्दै गएका छन्।
चुनावी राजनीतिमा उनको उम्मेदवारी केवल व्यक्तिगत महत्वाकांक्षा होइन। जिल्लाको आवाजलाई केन्द्रसम्म पुर्याउने र “सरकार जनताका लागि हो” भन्ने विश्वास पुनः जगाउने स्पष्ट एजेन्डासहित उनी मैदानमा उत्रिएका छन्। पार्टीले पनि उनको निरन्तरता, इमानदारी र जनसमर्थन देखेर टिकट दिएको छ, जुन सामान्य प्रक्रिया होइन।
अहिलेको राजनीतिक माहोल हेर्दा दंगालसँग तीन ठोस शक्ति देखिन्छ—जनविश्वास, कामको ट्र्याक र युवाको समर्थन। यी तीन तत्व एकसाथ भएको अवस्थामा कुनै पनि उम्मेदवार कमजोर हुँदैन। त्यसैले सन्तोष दंगालको उपस्थितिलाई हल्का रूपमा लिनु विपक्षका लागि रणनीतिक भूल हुन सक्छ।
निजगढको राजनीतिमा यो चुनाव केवल जित–हारको होइन, भरोसा र विकल्पको परीक्षा हो। र त्यो परीक्षामा सन्तोष दङाल मजबुत देखिँदै छन्।





Write your Comment