प्रचण्ड-नेपाल समूह र काँग्रेसका कार्यकर्ताबीच झडप, ७ जना घाइते

रातोघर

 २०७७ पौष २६, आईतबार  मा प्रकाशित
७४८ पाठक संख्या


सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ता बीच झडप भएको छ । दुई पक्षबीच भएको झडपमा परी ७ जना घाइते भएका छन् ।

आइबार बिहान चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव समुहका केहि व्यक्तिले वडा नं. ६ गोहियाही बस्ने अन्दाजी ६० वर्षीय रामजिनिस साहलाई कुटपिट गरेपछि बिबाद बढेकाे थियाे । त्यसपछि भएकाे झडपमा दुई पक्षबीच ढुङ्गा हानहान हुँदा ७ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा वडा नं. २ बस्ने ३६ वर्षीय दिनेश राय, ३३ रंजित यादव, २८ वर्षीय संतोष यादव, वडा नं. ९ घोरिया बस्ने २० वर्षीय धिरेन्द्र यादव, २० वर्षीय पप्पु यादव, वाडा नं. ७ सगरदिना बस्ने ३३ वर्षीय नविन कुमार यादव रहेका छन् । घाइते ६ जनाकै अवस्था समान्य रहेको र उनीहरुको उपचार जिल्ला अस्पताल मलंगवामा भैरहेको प्रहरीले जनाएको छ । त्यस्तै नेपाली कांग्रेस पक्षका लेथ मेशीन संचालक रामजिनिस साहलाई जिल्ला अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज पठाइएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।

लेथ मेशीन संचालक साह पक्षबाट करिब ५ सय आएको गाउँलेहरुले गाउँपालिकाको ना १ झ १७०० नाम्बरको स्कार्पियो जीप तथा केहि मोटरसाईकल र कार्यालयमा समेत तोडफोड गरी क्षति पु-याएको गाँउपालिकाका अध्यक्ष बिक्रम यादवले बताए । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले जानकारी दिए।चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव नेकपा केन्द्रिय सदस्य तथा पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवका छोरा हुन् ।

लेथ मेशीन संचालक साहलाई गाउँपालिका अध्यक्ष यादवले पटक पटक बजार समितिको जस्ता भएको घरमा लेथ मेशिन हटाउन भनेको थियो। लेथ मेशिन संचालक साहले गाउँपालिका घर खाली नगरेपछि नेकपा पक्षको केहि व्यक्तिले लेथ संचालक साहलाई कुटपिट गर्दा गाउँपालिका अध्यक्ष र गाउँले पक्ष बिच झडप भएको स्थानियले बताएका छन् ।

यसैगरी नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति नागेन्द्र कुमार रायले घटनाको सत्य तथ्य छानबिन गर्न प्रशासनसंग माग गरेको छ । बजार समितिको जस्ता भएको घरमा लेथ मेशिन संचालक साहलाई वडा कार्यालयले राखेको र हटाउने पूर्ण अधिकार वडा अध्यक्षलाई हुँदाहुँदै गाउँपालिका अध्यक्ष यादवले आफैं हस्तक्षेप गरेको सभापति रायले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban