

काठमाडौं । शिक्षा र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन शुक्रबार प्रतिनिधिसभामा पेस गरिएको छ ।
प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले भूमिसम्बन्धी विधेयकको प्रतिवेदन प्रस्तुत गरिन् । उनले प्रचलित कानुनअनुसार घरजग्गा व्यवसाय गर्न अनुमति प्राप्त कम्पनीले हदभित्रको जग्गा विकास गरी घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरेर बिक्री गर्न सक्ने व्यवस्था विधेयकले गरेको बताइन् ।
थापाका अनुसार विधेयकमा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने कानुनी व्यवस्था पनि समावेश गरिएको छ । यसअघि बिहीबार बसेको समितिले बहुमतले विधेयक पारित गरेको थियो भने माओवादी केन्द्र र रास्वपाका सांसदहरूले असहमति जनाएका थिए ।
त्यसैगरी, विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन पनि प्रतिनिधिसभामा पेस भएको छ । शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले सरोकारवालाको माग र सरकारले शिक्षकहरूसँग गरेको सहमति आधारमा प्रतिवेदन तयार गरिएको बताए ।उनले विद्यार्थीलाई शिक्षा पाउने अवसरबाट बञ्चित हुन नदिने र गुणस्तरीय शिक्षा कायम राख्ने उद्देश्यले विधेयक तयार गरिएको उल्लेख गरे । थापाका अनुसार दबाबका बाबजुद पनि समितिले अन्ततः शिक्षा सुधारलाई लक्षित गर्दै प्रतिवेदन पारित गर्न सफल भएको हो ।





Write your Comment