जीतपुरसिमराको बजेट कार्यान्वयन प्रक्रिया सुरु, वडाहरुलाई उपभोक्ता समिति गठन निर्देशन

रातोघर

 २०८२ भाद्र ६, शुक्रबार  मा प्रकाशित
३४० पाठक संख्या


बारा,सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रमाणित भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले बुधबार २४ वटै वडा कार्यालयलाई संयुक्तरुपमा पत्र जारी गर्दै उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाका लागि उपभोक्ता समिति गठन प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिएका छन् ।

पत्रमा भनिएको छ, “आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम प्रमाणित भई स्वीकृत भइसकेको व्यहोरा विदितै छ । वडास्तरिय योजनाहरु कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न/गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध छ।” पत्रमा उल्लेख गरिएको छ । उपमहानगरपालिकाले यस निर्देशसँगै बजेटको योजनाहरु समयमै कार्यान्वयनमा आउने विश्वास लिएको जनाएको छ ।

पत्रमा उपभोक्ता समिति गठनका लागि आवश्यक प्रक्रिया स्पष्ट गरिएको छ ।

  • समिति गठनका लागि आम भेला गर्ने समय, स्थान र विषयको जानकारी कम्तीमा सात दिनअघि सार्वजनिक गर्नुपर्नेछ र सो जानकारी उपमहानगरपालिकामा समेत पठाउनुपर्नेछ ।

  • योजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताको सहभागितामा आयोजना स्थलमै सातदेखि ११ सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्नेछ ।

  • समिति गठन वडाअध्यक्ष, वडा सदस्य वा कार्यालयले तोकेको प्रतिनिधिको रोहबरमा गर्नुपर्नेछ ।

  • समितिमा कम्तीमा ३३ प्रतिशत महिला सदस्य अनिवार्य रहनेछन् । अध्यक्ष, सचिव वा कोषाध्यक्षमध्ये कम्तीमा एक पदमा महिला हुनुपर्ने प्रावधान राखिएको छ ।

  • अन्य व्यवस्था “उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधी, २०७५” अनुसार हुनेछ ।

  • गठन सम्पन्न भएपछि समिति उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने र आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर (PAN) लिनुपर्नेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban