वामदेव गौतम : ‘एमाले फुट्दा नै समाजवादीमा आउन चाहेको थिएँ’

रातोघर

 २०८२ भाद्र ९, सोमबार  मा प्रकाशित
३२० पाठक संख्या


काठमाडौं । हालै नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता वामदेव गौतमले एमाले फुटेर नयाँ पार्टी गठन हुने बेलामै समाजवादीमा आउन चाहेको बताएका छन्। तर त्यतिबेला आफ्नै कारणले नमिलेको उनले स्पष्ट पारेका छन्।

पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गौतमले एमालेमै ठूलो जिम्मेवारी वहन गरिरहेको कारण तत्काल पार्टी छाड्न नसकेको बताए। उनले भने, “त्यो बेला मैले मसँग त्यही शक्ति छ भन्ने सोचेको थिएँ। म लागे भने फुटेका पार्टीलाई जुटाउन सक्छु भन्ने लागेको थियो। तर वास्तविकतामा त्यो सम्भव रहेन।”

उनका अनुसार शक्तिबिनाको नेतृत्वले अरू पार्टी मिलाउन नसक्ने अनुभवबाट सिक्नुपरेको छ। उनले थपे, “सानो टुक्रा लिएर गएर ठूला पार्टीलाई जुटाउन आग्रह गर्दा मेरो आवाज हरायो। त्यसपछि पार्टी निर्माण गर्न खोज्दा पनि सफल भएन, अन्ततः यहीमा आउन बाध्य भएँ।”गौतमले राष्ट्रिय एकता अभियान चलाउँदा पनि आफूलाई निष्कासन गर्ने गरी दुई घटना घटेको स्मरण गरे। साथै उनले नेताहरूलाई केवल काठमाडौंमा सीमित नराखी स्थानीय तहसम्म जिम्मेवारी दिएर पार्टी निर्माणमा लगाउनुपर्ने सुझाव दिए।

“म तल्लो तहसम्म गएर काम गर्न तयार छु। यदि ७५३ पालिकामा कम्तीमा पाँच जनाको समिति गठन गर्न सक्यौँ भने पनि ठूलो उपलब्धि हुन्छ। १० जनाको समिति बनाउन सक्यौँ भने हाम्रो पार्टीको सदस्य संख्या २० लाख पुग्छ,” गौतमले जोड दिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban