बारामा बाघको आक्रमणः शव फेला, टाउको नैं भेटिएन

रातोघर

 २०८२ भाद्र ११, बुधबार  मा प्रकाशित
३७० पाठक संख्या


सिमरा । बाराको अमलेखगञ्ज क्षेत्रमा बुधबार बिहान बाघको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ । ज्यान गुमाउनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२२ निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको पुष्टि भएको छ ।

परिवारका अनुसार शर्मा बिहान स्कुटीमा घाँस काट्न गएका थिए । तर अबेरसम्म घर नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा शर्मा प्रयोग गरेको स्कुटी र काटिएको घाँस जंगलको छेउमा भेटिएको थियो । तर शर्मा भने भेटिएका थिएनन् । त्यसपछि बुधबार दिउँसो करिब २ बजेतिर परिवारले उनलाई हराएको भन्दै इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा उजुरी दिएका थिए ।

उक्त उजुरीपछि प्रहरी निरीक्षक जय प्रकाश साहको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । खोजी गर्ने क्रममा आधाभार जंगलतर्फ पुग्दा घटनास्थल नजिकै शर्माले प्रयोग गर्ने चप्पल र केही रगत देखिएको प्रहरीले जनाएको छ।

त्यसपछि आधाभार ब्यारेकबाट नेपाली सेना, प्रहरी टोली, वडा नं. २१ र २२ का अध्यक्ष सहित स्थानियहरुले संयुक्त रुपमा खोजी गर्न थाले । सोही क्रममा जंगलभित्र सडकबाट करिब २००–३०० मिटर पूर्वपट्टि शर्माको शव भेटिएको थियो । शव घोप्टो अवस्थामा भेटिएको र मृतकको टाउको बाघले खाएको अवस्थामा नभेटिएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा मुचुल्का उठाई शवलाई पोष्टमार्टमको लागी अस्पताल पठाईएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban