

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशभरका गाउँपालिका र नगरपालिकामा लामो समयदेखि चल्दै आएको “निमित्त कार्यकारी प्रमुख” को व्यवस्था अन्त्य गर्दै स्थायी प्रमुख प्रशासकीय अधिकृत (प्रमुख प्रशा.अ.) नियुक्त गर्ने ऐतिहासिक निर्णय गरेकी छिन्।
मन्त्री न्यौपानेका अनुसार विगत लामो समयदेखि करिब २०० भन्दा बढी पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत को भरमा सञ्चालन हुँदै आएका थिए। अबदेखि भने ७५३ वटै स्थानीय तहमा पूर्ण जिम्मेवारीसहित स्थायी प्रमुख प्रशासकीय अधिकृत पठाइएको छ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले भनिन्, “सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो। यसलाई निरन्तर सुधार र परिमार्जन गर्दै जानुपर्छ। त्यसैले पालिकालाई निमित्तका भरमा चलाउने प्रथा अन्त्य गरी पूर्ण जिम्मेवारीसहित प्रशासकीय अधिकृत खटाइएको छ।”
उनले प्रमुख प्रशासकीय अधिकृत पाएका कर्मचारीलाई बधाई दिँदै उच्च दक्षता, इमान्दारी र जिम्मेवारीका साथ आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिइन्। साथै पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरुलाई प्रमुख प्रशासकीय अधिकृतको क्षमताको सदुपयोग गर्न आग्रह गरिन्।
मन्त्री न्यौपानेले यो निर्णयलाई जनताको हितमा गरिएको भन्दै आगामी चरणमा उपमहानगरपालिका र महानगरपालिकालाई पनि निमित्तविहीन बनाइने जानकारी दिइन्।
यस निर्णयलाई ऐतिहासिक कदमका रूपमा लिइएको छ भने सामाजिक सञ्जालमा मन्त्री न्यौपानेलाई बधाई र शुभकामनाको ओइर लागेको छ।





Write your Comment