पर्सामा हैजापछि जापनिज इन्सेफलाइटिसको सङ्क्रमण, एक बालकको अवस्था गम्भीर

रातोघर

 २०८२ भाद्र १३, शुक्रबार  मा प्रकाशित
१९२ पाठक संख्या


वीरगञ्ज । हालै हैजाको प्रकोप देखिएको पर्सा जिल्लामा अब जापनिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमण पनि पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका र ठोरी गाउँपालिकामा गरी दुई जनामा यो रोग फेला परेको हो ।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार पर्सागढी नगरपालिका–५ घर भई हाल वीरगञ्ज–८ मा बसोबास गर्ने ८ वर्षीय बालक र ठोरी गाउँपालिका–३ की ८४ वर्षीय वृद्ध महिलामा जापनिज इन्सेफलाइटिस देखिएको हो । वृद्ध महिलाको काठमाडौँस्थित न्युरो अस्पतालमा उपचार भई स्वास्थ्यमा सुधार आएपछि उनी घर फर्किसकेकी छन् । तर, सङ्क्रमित बालकको अवस्था भने अझै गम्भीर रहेको र उनको करिब एक महिनासम्म कान्ति बाल अस्पतालमा उपचार भए पनि सुधार नभएपछि परिवारले घर ल्याएको जानकारी दिइएको छ ।

क्युलेक्स प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरल रोगले मस्तिष्कमा गम्भीर असर पुर्‍याउने गर्दछ । उच्च ज्वरो, टाउको दुख्ने, वाकवाकी, बान्ता, मानसिक भ्रम, चक्कर लाग्ने, र गम्भीर अवस्थामा पक्षाघात वा मृत्युसम्म हुन सक्ने यस रोगबारे स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् ।जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार लक्षण देखिनासाथ तत्काल नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि लैजानु जरुरी हुन्छ, नत्र बिरामीलाई अपाङ्गता वा मृत्युको जोखिम हुन्छ ।

पर्सामा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालयले स्थानीय बासिन्दालाई थप सतर्क रहन, सरसफाइमा ध्यान दिन, लामखुट्टे नियन्त्रणका उपाय अपनाउन र कुनै पनि शंका लाग्दा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban