वडाध्यक्ष चयन गुरुङ ‘उत्कृष्ट महिला जनप्रतिनिधि’बाट सम्मानित,उनको प्रेरणादायी यात्रा

रातोघर

 २०८२ भाद्र १४, शनिबार  मा प्रकाशित
३४८ पाठक संख्या


बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१४ की वडाध्यक्ष चयन गुरुङ ‘उत्कृष्ट महिला जनप्रतिनिधि’ सम्मानबाट सम्मानित भएकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न बृहत महिला सम्मेलन–२०८२ मा पूर्व राष्ट्रपति सम्माननीय बिद्या देवी भण्डारीको हातबाट वडाध्यक्ष गुरुङलाई सम्मानपत्र प्रदान गरिएको हो ।

जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै आएको छोटो अवधिमै सामाजिक न्याय, महिला सशक्तिकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गुरुङलाई यस पटकको ‘उत्कृष्ट महिला जनप्रतिनिधि’ सम्मानका लागि चयन गरिएको आयोजकले जनाएको छ ।

सम्मान ग्रहण गर्दै वडाध्यक्ष गुरुङले जनताले दिएको विश्वासलाई अझ मजबुत बनाउन र महिला अधिकार, गरिबी निवारण तथा जनस्वास्थ्यका क्षेत्रमा थप काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

गुरुङ यसअघि पनि महिला तथा बालबालिकाको पक्षमा वकालत, निःशुल्क रगत वितरण, सुत्केरी महिलाका लागि पोषण सहयोग, सर्पदंश पीडितलाई राहत, किसानको उत्पादन प्रवद्र्धन, शिक्षा र स्वास्थ्य सेवामा योगदान जस्ता सामाजिक कार्यका कारण चर्चामा रहेकी छन् ।

जनयुद्धकी पूर्व योद्धा, लोकदोहोरी गायिका हुँदै वडाध्यक्षसम्मको यात्रा

समाजसेवी, लोकदोहोरी गायिका र राजनीतिक नेतृको परिचय बनाउन सफल भएकी चयन गुरुङ हाल जीतपुरसिमरा उपमहानगरपालिका–१४ की वडाध्यक्षका रूपमा सक्रिय छिन् । रुकुम जिल्ला लुकुम गाउँमा २०४३ साल कात्तिक ३ गते जन्मिएकी गुरुङले आठ कक्षा अध्ययन गरेकै बखत २०५८ सालदेखि माओवादी जनयुद्धमा होमिएकी थिइन् ।

जनयुद्धमा सक्रिय भूमिका खेलेकी उनले पछि धादिङको गंगा जमुना गाउँपालिकामा विवाह गरिन् र पछि बसाइँसराइ गर्दै बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१४ मा स्थायी बसोबास गरिन् । युद्धकालीन भूमिकासँगै सांगीतिक यात्रामा पनि उत्तिकै सक्रिय रहेकी गुरुङले लोकदोहोरी गीतमार्फत समाजका घटनाबारे आवाज उठाउँदै आइन् ।

जीवनका उतारचढाव बीच उनले दुई छोरी र एक छोराको जन्म दिइन् । छोराछोरी हुर्किएसँगै शिक्षाको कमी महसुस गर्दै पुनः अध्ययनमा फर्किएकी उनले रजघट्टा विद्यालयबाट कक्षा ९ भर्ना भएर एसईई र १२ कक्षा सम्म पास गरिन् ।

महिलाको हकअधिकार, कानुनी परामर्श र असहायहरूको पक्षमा वकालत गर्दै आएका गुरुङले वडाध्यक्ष बन्नुपर्ने जनस्तरबाट आएका सुझावलाई आत्मसात गर्दै चुनावी यात्रामा होमिइन् । पाँच दलीय गठबन्धनलाई ५५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित वडाध्यक्ष बनेकी हुन् ।

वडाध्यक्ष बनेपछि उनले गरिब, दलित, मुस्लिम, पिछडिएका र असहाय समुदायका लागि थुप्रै योजनाहरू अगाडि सारेकी छिन् । वीरगन्ज ब्लड बैंकसँग सहकार्य गरी निःशुल्क रगत उपलब्ध गराउने, सुत्केरी महिलालाई पाँच हजार रुपैयाँ पोषण सहयोग, सर्पदंश पीडितलाई दश हजार रुपैयाँ तत्काल राहत, दुधजन्य उत्पादनमा संलग्न किसानका लागि १० लाख रुपैयाँ बजेट छुट्याउने जस्ता कार्यक्रम उनले सञ्चालन गर्दै आएकी छन् ।

स्वास्थ्य क्षेत्रमा उनले निःशुल्क स्वास्थ्य परीक्षण, आँखा शिविर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर परीक्षणजस्ता कार्यक्रमलाई निरन्तरता दिएकी छन् । शिक्षा क्षेत्रमा पनि सक्रिय गुरुङ हाल श्री जनता मावि रजघट्टाको विद्यालय व्यवस्थापन समितिकी अध्यक्षका रूपमा कार्यरत छिन् । विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि उनले ५ लाख रुपैयाँ बजेट छुट्याएकी छिन् ।

महिला सञ्जालको अध्यक्षको जिम्मेवारीमा रहेकी गुरुङले घरेलु हिंसा र लैंगिक हिंसाविरुद्ध दृढतापूर्वक आवाज उठाउँदै आएकी छन् । असार महिनामा रक्तअभाव हुँदा उनले ९० पोका ब्लड संकलन गरेर उपलब्ध गराएकी थिइन् ।

लोकदोहोरी गायिका, समाजसेवी र जनप्रतिनिधिका रूपमा चयन गुरुङ अहिले महिला सशक्तिकरणदेखि स्वास्थ्य, शिक्षा र सामाजिक न्यायका अभियानमा निरन्तर सक्रिय रहँदै आएकी छिन् । वडाअध्यक्ष चयन गुरुङ राजनितिकमा ठुलो सम्भावना बोकेकी महिला नेतृ हुन् उनलाई थप सफलताको हाम्रो पनि सुभकामना ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban