प्रधानमन्त्री ओलीले  शिखर सम्मेलनमा सम्बोधन गर्दै, पुटिनलगायत राष्ट्र प्रमुखसँग भेटवार्ता गर्दै

रातोघर

 २०८२ भाद्र १६, सोमबार  मा प्रकाशित
१६२ पाठक संख्या


थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिन शहरमा भइरहेको शाङ्घाइ सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। पाँच दिने चीन भ्रमणका क्रममा उनी आज विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।

थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको उक्त शिखर सम्मेलनमा सहभागी मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखले आ–आफ्नो धारणा प्रस्तुत गर्ने क्रम चलिरहेको छ। नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले आजको सत्रमा आफ्नो सम्बोधन दिनेछन्।

चीनका राष्ट्रपति सी जिनपिङको विशेष मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गते चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका थिए। भ्रमणकै क्रममा उनले शिखर सम्मेलनमा सहभागिता जनाउनुका साथै उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय वार्ता समेत गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले आजै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मिज्जु, र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। यी भेटवार्ताले नेपाल र ती मुलुकबीच आपसी सम्बन्ध, सहकार्य र साझेदारी विस्तारमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ। (रासस)

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban