

नेपालमा धेरै युवाले राजनीति भन्नासाथ भ्रष्टाचार, गुटबन्दी र सत्तालिप्सामात्र देख्ने गरेका छन्। यही सोचका कारण उनीहरू राजनीति भन्ने शब्दसँगै विमुख भइरहेका छन्। तर राजनीति केवल नेताको कुरा होइन; शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधारदेखि वातावरणसम्म सबै राजनीतिक निर्णयसँग जोडिएका छन्।
नेपालको करिब ४० प्रतिशत जनसंख्या युवा भएकाले उनीहरूको निष्क्रियता गम्भीर समस्या हो। जब यस्तो ठूलो वर्ग नीति निर्माणबाट टाढा रहन्छ, तब शिक्षा सुधार अड्किन्छ, रोजगारीको अवसर सीमित रहन्छ र भविष्य अरूको हातमा पर्छ।
नेपालको इतिहासमै युवाले २०४६ र २०६२/६३ का आन्दोलनमा निर्णायक भूमिका खेलेर परिवर्तन सम्भव बनाएका थिए। तर त्यसपछि सत्तामा पुगेका नेताले अपेक्षित सुधार दिन सकेनन्, जसको भार आजको पुस्ताले बोकिरहेको छ। यसैले अब युवाले राजनीति ‘हाम्रो विषय होइन’ भनेर टाढा बस्ने होइन, नयाँ सोच, इमानदार नेतृत्व र प्रविधि–मैत्री दृष्टिकोणका साथ अघि बढ्ने हो।
राजनीतिक सहभागिता भनेको दलको टिकट लिनु मात्र होइन, चेतना फैलाउनु, नीति निर्माणमा सरोकार राख्नु र आवश्यक परे नेतृत्व सम्हाल्ने आँट गर्नु हो। युवाको सक्रियता अब विकल्प होइन—देश र भविष्यप्रतिको साझा जिम्मेवारी हो।





Write your Comment