

विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको असहमतिको कारण नयाँ सरुवा भई आएका सचिव मिलन आचार्य अझै जिम्मेवारी विहीन अवस्थामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएका छन् ।
साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई कोशी प्रदेशमा सरुवा गरेको थियो । त्यसअनुसार उनलाई मुख्यमन्त्री कार्यालयमार्फत भौतिक पूर्वाधार विकास मन्त्रालयमा खटाउने तयारी भए पनि मन्त्री राईको ‘अब्जेक्सन’ का कारण निर्णय अघि बढ्न सकेको छैन ।मुख्यमन्त्री कार्यालयका स्रोतका अनुसार पटक–पटक बसेको मन्त्रिपरिषद्को बैठकमा पनि मन्त्री राईको अवरोधका कारण सचिव आचार्यलाई पूर्वाधार मन्त्रालयमा पठाउने निर्णय टुंगो लाग्न सकेको छैन । यसबीच पूर्वाधार मन्त्रालयको नेतृत्व उपसचिव रमेश श्रेष्ठले निमित्त सचिवका रूपमा सम्हालिरहेका छन् ।
गठबन्धन सरकार अन्तर्गत कांग्रेसका तर्फबाट मन्त्री राईले भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । तर, उनको असहमतिको कारण मुख्यमन्त्री कार्यालयले सचिव आचार्यलाई मन्त्रालयमा पठाएर हाजिर गराउन नसकेको बताइन्छ ।
यसअघि पूर्वाधार सचिव अशोक साहको सरुवा भइसकेको छ । साहले रमाना लिनुअघि मन्त्री राईमार्फत १४ जिल्लाका पूर्वाधार कार्यालय प्रमुखहरूको हेरफेर गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको थियो । तर, त्यो प्रस्ताव अस्वीकृत भएपछि मन्त्री राई असन्तुष्ट बनेको स्रोतको दाबी छ ।
सचिव आचार्य यसअघि इलामस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख थिए । सहसचिवमा नाम निकलेपछि उनको पोष्टिङ कोशी प्रदेशमा भएको हो ।तर मन्त्री राईले भने आफूले सचिवको पोष्टिङ रोक्ने काम नगरेको दाबी गरेका छन् । उनले भने, “पहिला सिधै मन्त्रालय तोकेर सरुवा हुन्थ्यो, अहिले मुख्यमन्त्री कार्यालय हुँदै पठाउने गरिएको छ । कोही त आउनु होला, भन्ने मात्रै हो।”





Write your Comment