

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले निकट भविष्यमा नेपालमा रवि लामिछानेभन्दा पनि मनपरी बोल्ने, दुर्गा प्रसाईको सोच र शैलीमा हुर्किएका व्यक्तिहरु राजनीतिमा हावी हुने आशंका व्यक्त गरेका छन्।
जापानमा सम्पन्न प्रवासी नेपाली एकता मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादी जस्ता दलभित्र लोकतन्त्रको अभावले गर्दा गालीगलौज र घृणा फैलाउने प्रवृत्ति बढ्दै गएको बताए।
भुसालले भने, “एमाले, कांग्रेस, माओवादीको कुरा छाडौं, अब रविजीभन्दा बढी गाली गर्नेहरुको दिन आउँछ। सोसल मिडियामा मनपरी बोल्नेभन्दा दुर्गा प्रसाईको ‘स्कूलिङ’ बाट आएका व्यक्तिहरु अब्बल राजनीतिज्ञ हुनेछन्।”
उनले मुलुकमा आजको संविधानले काम नगर्ने अवस्था आएको उल्लेख गर्दै, एमाले र माओवादी दुवै पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको कुर्सी हल्लिएपछि संकटमा परेको दाबी समेत गरे।
साथै, भुसालले आत्मसमिक्षाको कुरा उठाएका जनार्दन शर्मामाथि प्रचण्डले आक्रमण गरिरहेको आरोप पनि लगाए।





Write your Comment