

काठमाडौं । चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनफिङले भिक्ट्री परेडमा सहभागी २६ देशका विशिष्ट पाहुनाका लागि दिएको दिवाभोजको मेनु सार्वजनिक भएको छ। हङकङको सरकारी पत्रिका वेन वेइ पो ले सो भोजमा समावेश गरिएका परिकारबारे जानकारी दिएको हो।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेता सैन्य परेडपछि सीले आयोजना गरेको भोजमा सहभागी भएका थिए।
भोजमा परम्परागत चिनियाँ परिकारसँगै अन्तर्राष्ट्रिय शैलीका परिकार पनि राखिएका थिए। शंखे कीराको मासुसहितको चिकन सुप, ल्याम्ब चप, स्टर फ्राइड लबस्टर, विभिन्न प्रकारका च्याउ, रोस्टेड सालमोन, फ्राइड राइस, पिँडालुबाट बनेको केक, आँपको केम लगायतका विशेष खानाहरु मेनुमा थिए। साथै चीनको हेबेइ प्रान्तमा बनेको रातो र सेतो दुवै प्रकारका वाइन समेत परिकारसँगै प्रस्तुत गरिएको थियो।





Write your Comment