संघीयता नेपालको राष्ट्रिय आवश्यकता : वर्षमान पुन

रातोघर

 २०८२ भाद्र १८, बुधबार  मा प्रकाशित
२१३ पाठक संख्या


रोल्पा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन्।

गृहजिल्ला रोल्पामा संघ तथा प्रदेशअन्तर्गतका सरकारी कार्यालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले संघीयता तीन तहका सरकारमार्फत जनताको सार्वभौम अधिकार बाँडफाँट गर्ने व्यवस्थामा आधारित भएको स्पष्ट गरे।पुनले भने, “तीन तहको संघीय संरचना संविधानले स्वीकार गरिसकेको छ। सार्वभौम सत्ता जनताको हुन्छ। देशका मालिक जनता हुन्। जनताले शासन गर्ने भन्ने कुरा स्वीकार गरेका छौँ। लोकतान्त्रिक व्यवस्थाले तीन तहमा जनताका अधिकार बाँडफाँड गरेको छ।”

उनले नेपालमा अवलम्बन गरिएको संघीयता सहकार्यमा आधारित रहेको बताउँदै संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय र स्पष्ट कार्यविभाजन आवश्यक भएको उल्लेख गरे। साथै संविधानमा व्यवस्था भएअनुसार संघीय अभ्यासहरूको आवधिक समीक्षा गर्नुपर्ने बेला आएको धारणा राखे।संघीयताको सफल कार्यान्वयनका लागि कानुनी आधार, स्पष्ट जिम्मेवारी, समन्वय र वित्तीय स्रोत व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले संघले नीति निर्माण, प्रदेशले विकास एजेन्सी र स्थानीय तहले सेवा प्रवाह गर्ने संवैधानिक व्यवस्था कार्यान्वयनमा कमजोरी देखिएकाले सुधार गर्नुपर्ने बताए।

पुनले संघीयतालाई दिगो र प्रभावकारी बनाउन संवैधानिक व्यवस्थाहरूको कार्यान्वयनमा सबै पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने पनि औंल्याए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban