पर्वतः तपाईँ हाम्रो सहकारी ठगीका आरोपी प्रहरीकैं संरक्षणमा प्रहरीसँग खुलेआम बजार घुम्दै

रातोघर

 २०८२ भाद्र १८, बुधबार  मा प्रकाशित
२८३ पाठक संख्या


पर्वत कुश्मामा रहेको “तपाईँ हाम्रो सहकारी”मा भएको ठगी प्रकरणमा २२ जना विरुद्ध मुद्दा परेपनि, पक्राउमा भने सीमित व्यक्तिहरु मात्र परेका छन् । पक्राउ परेकामध्ये पनि धेरैजसो सोजासाझा व्यक्ति रहेका र अदालतले केहीलाई धरौटीमा छोडेको र केही ब्यक्तिहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् । तर, घटनाका मुख्य जिम्मेवार व्यक्ति भने अझैसम्म खुलेआम बजारमा हिँडिरहेको पीडितहरूले गुनासो गरेका छन् ।

पीडित बचतकर्ताहरूका अनुसार फरार भनिएका केही व्यक्ति कुश्मा बजारमा खुलेआम देखिने गरेका छन् । यहाँसम्म कि पक्राउ पुर्जी जारी भइसकेका व्यक्तिहरु समेत प्रहरीकै संरक्षणमा राजनीतिक प्रभाव प्रयोग गरेर विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन् ।

यसैबीच, केही हप्ता अघि कुश्मा बजारमा प्रहरीले आयोजना गरेको कार्यक्रममा सहकारीका ऋण संयोजक रहेका प्रनिश गिरी समेत सहभागी भएका थिए । अदालतले पक्राउ पुर्जी जारी गरिसकेको गिरी प्रहरीकै कार्यक्रमभित्र प्रहरी अधिकृतहरूकै बीचमा उपस्थित हुँदा पीडितहरू थप आक्रोशित भएका छन् । पीडितहरूले यसलाई “कानुनलाई प्रत्यक्ष चुनौती” र “प्रहरीको भूमिका मुखदर्शक बनेको” भन्दै कडा आलोचना गरेका छन् ।

सहकारीका अध्यक्ष बाल गोपाल श्रेष्ठसहितका अन्य केही जिम्मेवार व्यक्ति अझै फरार छन् । प्रहरी प्रशासनले उनीहरूको खोजीमा चासो नदेखाएको आरोप समेत पीडितहरूले लगाएका छन् । “सोजासाझा, महिला र वृद्धवृद्धाहरूमात्र पक्राउ पारी ठगी प्रकरणका मुख्य खेलाडीलाई उन्मुक्ति दिइएको छ,” पीडितहरूको आरोप छ ।

यस विषयमा पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन बिष्ट सँग सोध्दा उनले “निज अदालत उपस्थित भएको हुन सक्छ” भन्दै प्रकरण ढाकछोप गर्न खोजेको देखियो । तर, पीडितहरूले भने गिरी अझै फरारकै सूचीमा रहेको प्रस्ट पारेका छन् ।

यस्तै, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्य ले पनि यस प्रकरणलाई हल्कै ढंगले लिएको पीडितहरूको आरोप छ । उनले “आफूले विषय बुझ्ने प्रयास गर्ने” बताएका भएपनि, आजसम्म गिरी पक्राउ पर्न सकेको छैन ।

पीडितहरूको भनाइमा, बारम्बार सूचना दिए पनि प्रहरी प्रशासन मौन बसिरहेको छ । आर्थिक प्रभावमा परेर प्रहरी स्वयम्‍ सहकारी ठगीका आरोपीलाई आड दिने काममा संलग्न भएको आशंका उनीहरूले व्यक्त गरेका छन् । प्रहरी मुख्यालय समेत यसबारे बेखबर बनेको भन्दै पीडितहरूले आक्रोश पोखिरहेका छन् ।

यता, पीडितहरूले थप गुनासो गर्दै भनेका छन्, “नेपाल प्रहरीमा २/३ पटक प्रमुख फेरिए तर पनि हामीले न्याय पाउन सकेनौं । हालै चन्द्रकुवेर खापुङ ३२औं प्रहरी महानिरीक्षक बनेका छन् । उहाँ निष्पक्ष र इमान्दार प्रहरी हुनुहुन्छ भन्ने सुनेका छौं । अब उहाँबाट न्याय पाउने हाम्रो आश केही पलाएको छ।”

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban