

सिमरा । बाराको सिमरा रंगशालामा भदौ २१ गतेदेखि २८ गतेसम्म “नेपोभिट जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८२” हुने भएको छ। सिमरा भेट्रान क्लब सिमराको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ।
“लैङ्गिक समानताको प्रवर्द्धन र खेलकुद क्षेत्रमा महिलालाई नेतृत्व क्षमतामा अग्रसर बनाउने” मूल नारासहित नेपालमै क्लब स्तरमा पहिलो पटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो। यसअघि नेपालमा महिला फुटबल प्रतियोगिता भएपनि फ्लड लाईटमा राति सञ्चालन हुने यो पहिलो खेलकुद महोत्सव हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा आयोजक सिमरा भेट्रान क्लबसहित मोर जिल्ला फुटबल संघ, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, भारतको कुरूसंगल्स फुटबल एकेडेमी, रौतहट जिल्ला फुटबल संघ र धरान सिटी फुटबल क्लब गरी आठ टोली सहभागी हुनेछन्। विभागीय क्लबका चर्चित खेलाडीहरूको उपस्थिति रहने भएकाले खेल स्तरसमेत उच्च हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र कोचलाई दश–दश हजार रुपैयाँसहित ट्रफी दिइनेछ। सम्पूर्ण प्रतियोगितामध्ये उत्कृष्ट खेलाडीले भने एक लाख रुपैयाँसहित ट्रफी हात पार्नेछन्।
प्रतियोगिताको उद्घाटन भदौ २१ गते शनिबार साँझ ६ बजे हुने छ। प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनेछन्। प्रतियोगिताको अनुमानित कुल लागत ५२ लाख रुपैयाँ रहेको छ, जसका लागि नेपोभिट टायल्स मुख्य प्रायोजक र जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य सहयोग पुर्याउने भएका छन्। विभिन्न बैंक, उद्योग, व्यापारी तथा संघसंस्थाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रत्येक खेल हेर्न प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ। संकलित रकमको केही हिस्सा पथलैयाको वृद्धाश्रम, अपांग सेवा संघ बारा र विभिन्न महिला क्लबहरूलाई खेलकुद सामग्री उपलब्ध गराउन खर्च गरिने आयोजकले जनाएको छ।
यस खेलले महिला फुटबलको क्षेत्रमा प्रर्वधन गर्ने,स्थानीयस्तरमा खेलप्रति महिलाहरु लाई चासो जगाउने उद्देश्यसहित आयोजना गर्न लागिएको यस प्रतियोगिताले सिमरालाई महिला खेलकुदको केन्द्रका रूपमा परिचित बनाउने आयोजकको अपेक्षा रहेको छ ।






Write your Comment