दुर्गा प्रसाईंको घरमा भेटपछि जेनजीभित्र तरंग

रातोघर

 २०८२ भाद्र २३, सोमबार  मा प्रकाशित
२६९ पाठक संख्या


काठमाडौं । जेन–जी आन्दोलन सुरु हुनु अघि केही युवा नेता व्यवसायी दुर्गा प्रसाईंको घर पुगेपछि आन्दोलनभित्र नै तरंग पैदा भएको छ ।

प्रसाईंले उनीहरूसँग खिचेको सामूहिक तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै जेनजीका संयोजकलाई स्वागत गर्ने अवसर पाएको उल्लेख गरेका थिए । उनले छोटो तर सार्थक संवाद भएको दाबी गर्दै, विगत पाँच वर्षदेखि उठाइरहेका मुद्दा जेनजीका मागहरूसँग साझा रहेको बताएका थिए ।

उनको भनाइमा, ‘भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ, त्यसलाई जरैदेखि उखेलेर फाल्नु र अन्यायविरुद्ध लड्नु प्रत्येक नागरिकको कर्तव्य हो ।’तर, प्रसाईँको यो पोस्टपछि जेनजीभित्र असन्तुष्टि चर्किएको छ । धेरै युवाहरूले भिडियोमार्फत आलोचना गर्दै प्रसाईंले देखाएको तस्बिरमा देखिएका युवाहरूलाई आफूहरूले नचिन्ने र उनीहरू संयोजक नै नभएको दाबी गरेका छन् ।

विवाद बढेपछि तस्बिरमा देखिएका युवामध्ये मिरोज ढुंगानाले टिकटकमार्फत स्पष्टीकरण दिएका छन् । उनले प्रसाईँको घरमा गएको स्वीकार गर्दै, भेटको फोटोलाई प्रसाईंले आफ्नो स्वार्थअनुसार प्रयोग गरेको आरोप लगाएका छन् । ढुंगानाले भनेका छन्, ‘हामीले उहाँलाई यो युवाहरूको लडाइँ हो, हामी आफैं लड्छौं भनेर मात्र भनेका थियौँ । तर उहाँले आफ्नै ढंगले लेख्नुभयो, जसले मलाई दुःख दियो ।’

तर, ढुंगानाको यो स्पष्टीकरण भिडिओ अहिले उनको टिकटक प्रोफाइलमा उपलब्ध छैन ।

यसअघि प्रसाईंले जेनजी आन्दोलनमा सहभागी हुने घोषणा गरेका थिए । तर, जेनजी युवाहरूले निषेध गरेपछि उनले आफू सहभागी नहुने भन्दै आन्दोलन अगुवालाई फोन गरेर ‘म आउँदिन है भाइ हो’ भनेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban