

काठमाडौं । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्की पदभार ग्रहण गरेको १२ घण्टा बित्न नपाउँदै राजीनामाको माग सुरु भएको छ । मध्यराति बालुवाटार बाहिर सुधन गुरुङको नेतृत्वमा समूहले प्रदर्शन गर्दै असन्तुष्टि व्यक्त गरेको हो ।
नयाँ मन्त्रीको नामावली सार्वजनिक भएसँगै असहमति जनाउँदै युवाहरूले राजीनामा माग गरेका हुन् । प्रधानमन्त्री कार्कीले ऊर्जामन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरेको घोषणा भएपछि विरोध चर्किएको हो ।
अर्याललाई नियुक्त गर्ने निर्णयप्रति सुधन गुरुङ समूहले असहमति जनाएको छ । अर्याल काठमाडौं महानगर प्रमुख बालेन साहका कानूनी सल्लाहकारसमेत रहेका कारण ‘आन्दोलन हाइज्याक गरिएको’ भन्दै प्रदर्शनकारी आक्रोशित बनेका थिए ।
प्रदर्शनका क्रममा आन्दोलनमा ज्यान गुमाएकाका आफन्तहरू पनि बालुवाटार पुगेका थिए । उनीहरूले “हिजोसम्म न्याय दिलाउने भनिएको तर आज आन्दोलन हाइज्याक भएको” भन्दै पीडा व्यक्त गरे ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सुधन गुरुङले “जनता पावरफुल हुन्छन्, कसैले रोक्न सक्दैन । हामीले उठाएको ठाउँबाट नै निकाल्न सक्छौँ” भन्दै आक्रोश पोखेका छन् । त्यही क्रममा केही युवाले “हाम्रो आन्दोलन किन हाइज्याक गर्न दिइयो ?” भन्दै प्रश्न उठाए ।
बालुवाटारको ३ नम्बर गेट अगाडि भएको प्रदर्शनमा ‘मुर्दामाथि राजनीति नगर’ भन्ने नारा समेत लगाइएको थियो ।





Write your Comment