

काठमाडौं । २०७९ सालको स्थानीय निर्वाचनपछि उदाएका दुई स्वतन्त्र मेयर—धरानका हर्क साम्पाङ र काठमाडौंका बालेन्द्र शाह (बालेन)—बीच पछिल्लो समय असन्तुष्टि र कटुतापूर्ण सम्बन्ध देखिएको छ ।
निर्वाचनपछि वैकल्पिक शक्तिको सम्भावना बोकेका यी दुई नेताबारे जनताले सहकार्य गर्न सुझाव दिएका थिए । तर, जेनजी आन्दोलनपछि उनीहरूबीच दूरी बढ्दै गएको छ ।
जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि अन्तरिम सरकार बन्ने वातावरण तयार भयो । हर्क साम्पाङले त्यसको नेतृत्व गर्न चाहेका थिए । तर अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि हर्क असन्तुष्ट बने । उनले यो सरकारलाई विदेशीको इसारामा बनेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोख्न थाले ।
यता बालेनले भने हर्कलाई संयमता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा लेखे, “अहिले नै हतारमा नेतृत्वमा आउन चाहने साथीहरूको इमानदारीता देशलाई दीर्घकालीन रूपमा आवश्यक छ, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै, कृपया हतार नगर्नु होला।”
तर, बालेनको स्टाटसलाई हर्कले ढिलो प्रतिक्रिया जनाए । भदौ ३० गतेदेखि हर्कले बालेनलाई लक्षित गर्दै लगातार आरोप–प्रत्यारोप सुरु गरे । सुरुमा उनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग बालेनको निकटताको प्रश्न उठाए । त्यसपछि प्रत्यक्ष कार्यकारीको निर्वाचन गरेर जित्ने–हार्ने शर्तसहित बालेनलाई चुनौती दिए ।
त्यसको भोलिपल्ट फेरि हर्कले लेखे, “को हो त्यो भित्र बसेर खेल्ने? बरु बाहिरै आएर भिड्न तयार बन्।” जवाफमा बालेनले भने, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, मेरो माया साँचो हो।”
तर, बालेनको ‘माया’ले हर्कलाई फकाउन सकेन । बरु झन् आक्रामक बनेका उनले बालेनलाई विदेशी दलाल र आन्दोलनका विध्वंसमा संलग्न भएको आरोपसम्म लगाए । तीन दिनमै हर्कले बालेनमाथि लक्षित गरेर १५ वटा स्टाटस लेखिसकेका छन् ।यसबीच बालेनले नयाँ पार्टी गठन गर्ने चर्चा बाहिरिएपछि हर्कले फेरि व्यंग्य गरे—“देश जलाएर लुक्नेले पार्टी खोल्छ? गाउँ–गाउँमा गएर कसरी भोट माग्लान्?”
हाल बालेनले हर्कका तीव्र आक्रमणप्रति थप प्रतिक्रिया दिएका छैनन् । तर, हर्क–बालेनबीचको यो डिजिटल युद्ध कति लामो जाने हो, अनुमान गर्न सकिने अवस्था छैन ।यता जेनजी आन्दोलनकै औचित्यबारे पनि बहस सुरु भएको छ । कतिपयले यसलाई विदेशी निर्देशित भन्दै प्रश्न उठाइरहेका छन् भने कतिले हर्कको आरोपलाई गम्भीर रूपमा लिँदै बालेनप्रति शंका गर्न थालेका छन् ।





Write your Comment