

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधान र राष्ट्रिय सार्वभौमसत्तामाथि हाल गम्भीर आक्रमण भइरहेको बताएका छन् ।
इतिहासबाट पाठ सिक्न काजी भीम मल्लको प्रसङ्ग जोड्दै उनले असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनु बाहेक केही नलाग्ने चेतावनी दिए । उनले भने, “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले मात्र यो सङ्कटबाट देशलाई जोगाउन सक्छ ।”
ओलीले सबै नेपालीलाई संविधान र सार्वभौमसत्ता जोगाउन एकजुट हुन अपिल गरे । उनका अनुसार, सात दशक लामो संघर्षपछि आफ्नै प्रतिनिधिहरूमार्फत निर्माण भएको संविधानले लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनअधिकार सुनिश्चित गरेको छ ।
संविधान निर्माणको प्रक्रियामा नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै अघि बढेको अनुभव अझै ताजै रहेको स्मरण गर्दै उनले त्यसपछिको यात्राले मुलुकलाई भौगोलिक रूपमा जोड्ने, छिमेकीसँग पारवहन सम्झौता गर्ने र अर्थतन्त्र मजबुत बनाउन योगदान पुर्याएको बताए ।
तर, हालैको जेन–जी आन्दोलनमा हिंसा भडकाइँदा निरपराध युवाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै ओलीले भने, “सरकारले प्रदर्शनकारीलाई ताकिताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको घटनाको छानबिन आवश्यक छ ।”
प्रधानमन्त्रीबाट आफ्नो राजीनामापछि सिंहदरबार, नेपालको नक्सा, न्यायालय, राजनीतिक दलका कार्यालयदेखि सर्वसाधारणको सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीलाई उनले राष्ट्रिय अस्तित्वमाथिको प्रहार भने । “देश बनिरहेको थियो कि बिग्रिरहेको थियो भन्ने विषय समयले आफैँ बताउनेछ,” ओलीले टिप्पणी गरे ।





Write your Comment