कार्यालय डढे पनि इच्छाशक्ति कहिल्यै मर्दैन : ईश्वर पोखरेल

रातोघर

 २०८२ आश्विन ३, शुक्रबार  मा प्रकाशित
२५० पाठक संख्या


काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसको अवसरमा कार्यालय डढेर खरानी भए पनि पार्टीको इच्छाशक्ति कहिल्यै नमर्ने बताएका छन् ।

शुक्रवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडि बढ्छ । हाम्रो कार्यालय डढेर खरानी भयो, तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिल्यै मर्ने छैन ।”

कार्यक्रममा बोल्दै पोखरेलले यस्तो दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुःख व्यक्त गरे । तर, एमालेका नेता–कार्यकर्ता कहिल्यै विचलित नहुने उनको दाबी थियो । उनले थपे, “हामी ढुङ्गा चलाएर आएको पार्टी होइनौँ । हामीले हरेक कालखण्डमा चुनौतीहरूको सामना गरेका छौँ । तीमध्ये कतिपय हाम्रो कमजोरीका कारण आएका थिए भने कतिपय बाहिरी शत्रु र विरोधीहरूले खडा गरेका थिए । ती सबैलाई पार गर्दै एमाले गौरवशाली ढङ्गले यहाँसम्म आइपुगेको हो ।”

उनका अनुसार संविधान कसैले दान गरेको उपहार नभएर नेपाली जनताको लामो संघर्षको उपलब्धि हो । संविधान दिवस नेपालीले नयाँ उचाइमा पुर्‍याउने सङ्कल्पको प्रतीक भएको उनले उल्लेख गरे ।वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले जुनसुकै कठिन परिस्थिति भए पनि राष्ट्रिय दिवसमा सबै नेपाली एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban