

काठमाडौं । विश्वप्रसिद्ध आँखाका सर्जन तथा ‘गड अफ साइट’का नामले परिचित डा. सन्दुक रुइतले आफूलाई बारम्बार राजनीतिक पदमा बस्न आग्रह आए पनि आफ्नो ध्यान केवल बिरामीको उपचारमै केन्द्रित हुने स्पष्ट पारेका छन् ।
उनका अनुसार हरेक राजनीतिक उथलपुथलपछि विभिन्न समूह वा पक्षले नेतृत्व सम्हाल्न आग्रह गरे पनि उनले त्यस्ता प्रस्ताव अस्वीकार गर्दै आएका छन् । रुइतले भने, “मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । तर, म प्रष्ट छु— मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सिप, ज्ञान र समय दिनु हो ।”
उनले चिकित्सा सेवा र मानवताप्रतिको समर्पणलाई जीवनको मुख्य ध्येय मान्दै राजनीति वा पद प्रतिष्ठा भन्दा बिरामीलाई दृष्टि दिने कामलाई नै प्राथमिकता दिने बताए ।
डा. रुइतले यसअघि हजारौँ नेपालीसहित विभिन्न मुलुकका लाखौँ मानिसलाई निःशुल्क वा न्यून खर्चमा दृष्टि फर्काइदिएका छन् । यही कारण उनी सामाजिक जीवनमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएका छन् ।





Write your Comment