

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेनजी आन्दोलनलाई युवा पुस्ताको चाहना, जनचेतनाको उचाइ र मुलुकमा व्यापकतापूर्वक फैलिएको भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्बका रूपमा लिएको बताएकी छन् ।
संविधान दिवस मूल समारोहलाई सम्वोधन गर्दै उनले भनिन्, “यो आन्दोलन हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडिएको छ । लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली हो ।”
प्रधानमन्त्री कार्कीले सुशासन, समृद्धि र विकासका क्षेत्रमा रहेका कमजोरीले असन्तोष जन्माएको स्वीकार गर्दै ती समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । उनले जनअपेक्षाअनुसार काम गर्दै युवा आन्दोलनका एजेन्डालाई आत्मसात गर्ने सरकारको अठोट सुनाइन् ।
उनले संविधान दिवसलाई उत्सव मात्र नभई समीक्षा र सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् । संविधान कार्यान्वयनको एक दशकमा प्राप्त उपलब्धि, कमजोरी र आगामी कार्यदिशाको स्पष्ट समीक्षा आवश्यक रहेको उनको भनाइ थियो ।
भ्रष्टाचार, पारदर्शिता अभाव, सुशासन र रोजगारी जस्ता प्रश्न युवापुस्ताको मात्र नभई सम्पूर्ण देशको साझा एजेन्डा भएको उल्लेख गर्दै कार्कीले भनिन्, “सूचना प्रविधिको विकाससँगै सचेत भएका युवाले जनशासन, खुला सरकार र पारदर्शिताप्रति देखाएको चासो वास्तवमा हाम्रो मार्गदर्शक बन्नेछ ।”
उनी प्रधानमन्त्री पदमा पदलोलुपताले होइन, तर संकटपूर्ण परिस्थितिमा युवापुस्ताको आह्वान र संविधानले दिएको दायित्वअनुसार आएको स्पष्ट पार्दै ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जिम्मेवारी निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने अठोट दोहोर्याइन् ।
संविधान दिवसको अवसरमा उनले आन्दोलनमा जीवन अर्पण गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरिन् । साथै, तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण र निजी क्षेत्रको मनोबल पुनर्स्थापनाको जिम्मेवारी साझा रहेको बताइन् ।
युवापुस्तालाई सम्बोधन गर्दै कार्कीले भनिन्, “तपाईँहरू परिवर्तनका वास्तविक वाहक हुनुहुन्छ । तपाईँहरूको साहस, नवप्रवर्तनशील सोच र प्रतिबद्धताले नै नेपाललाई नयाँ उचाइमा पुर्याउनेछ ।”
उनले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन सम्पन्न गर्ने सरकारको प्राथमिकता दोहोर्याउँदै सबैलाई राष्ट्रिय अभियानमा हातेमालो गर्न आह्वान गरिन् ।





Write your Comment