

विराटनगर, भदौ २४ – हालैको आन्दोलनी घटनाका क्रममा विराटनगर महानगरपालिकाभित्रका अधिकांश वडा कार्यालयहरूमा तोडफोड र आगजनी भएपछि त्यहाँका जनप्रतिनिधि र कर्मचारी सेवाग्राहीलाई सुविधा उपलब्ध गराउन असमर्थ बनेका छन्।
वडा नम्बर १३ को कार्यालयमा पुगेका युवाहरूले नाराबाजी गर्दै आक्रमण गरेपछि भवन, भित्र रहेका कागजात, फर्निचर तथा सामग्रीमा ठूलो क्षति पुगेको छ। वडा अध्यक्ष सूर्यलाल यादवले तत्काल प्रहरीलाई फोन गरे पनि घटनास्थलमा सुरक्षा बल पुग्न नसकेका कारण आफैं सुरक्षित स्थानमा जानु परेको बताए।
यस्तो अवस्था केवल वडा १३ मा मात्र सीमित छैन। विराटनगरका अन्य धेरै वडा कार्यालयहरूमा समेत आगजनी, तोडफोड र लुटपाट भएपछि सम्पूर्ण सेवा ठप्प भएको छ। कम्प्युटर, फोटोकपी मेशिन, सवारीसाधनदेखि कार्यालयका मूल कागजात जलेर नष्ट भएका कारण कार्यालय सञ्चालनमा गम्भीर चुनौती थपिएको जनप्रतिनिधिहरूले बताएका छन्।
वडा अध्यक्षहरूको भनाइमा अहिले जनप्रतिनिधि र कर्मचारीलाई सेवाग्राहीको सामु अनुहार देखाउने स्थिति नै छैन। “भवन छैन, कागजात छैन, उपकरण छैन, यस्तोमा कार्यालयमा बस्ने जाँगरै हराएको छ,” एक वडाध्यक्षले पीडा व्यक्त गरे।
स्थानीयवासी भने आवश्यक नागरिक सेवा नपाउँदा ठूलो समस्यामा परेका छन्। जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस, सामाजिक सुरक्षा भत्ता लगायतका कार्य पूर्ण रूपमा अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका छन्।
यसबीच, विराटनगर महानगरपालिकाले ध्वस्त कार्यालयहरूको अवस्था मूल्याङ्कन गरी अस्थायी व्यवस्थाबाट भए पनि सेवा पुनः सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। तर, भवन पुनःनिर्माण, कागजात पुनःतयारी र उपकरण खरिदका लागि ठूलो समय र स्रोत चाहिने भएकाले तत्काल सहज सेवा प्रवाह असम्भव देखिएको जनाइएको छ।





Write your Comment