

काभ्रे – ललितपुरको नक्खु कारागारबाट भदौ २४ गते फरार भएका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरी बारीमा पुरेको अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार पनौती नगरपालिका–१२ गागलकी ३० वर्षीया मनीषा घेवा तामाङ तीन दिनदेखि बेपत्ता थिइन्। शुक्रबार साँझ घर नजिकैको बारीमा पुरिएको अवस्थामा उनको शव फेला परेको हो।
“घटनाको जानकारी आएलगत्तै प्रहरी टोली खोतल्न पुगेको छ,” एसपी शाहले बताए।
पनौती–१२ का वडाध्यक्ष जयराम केसीका अनुसार घर वरिपरिको बारीमा शव गाडिएको अवस्थामा भेटिएको हो। “मनीषा तीन दिनदेखि हराइरहेकी थिइन्। बाहिर चप्पल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए,” उनले भने।
मनीषाका श्रीमान् सन्तबहादुर तामाङ यसअघि बलात्कारको आरोपमा चार वर्षदेखि नक्खु कारागारमा थुनामा थिए। भदौ २४ गते जेल तोडफोड हुँदा उनी रास्वपाका सभापति रवि लामिछानेसँगै फरार भएका थिए। लामिछाने फेरि कारागार फर्किए पनि सन्तबहादुरसहित अझै धेरै कैदी फरार नै छन्।
स्थानीयका अनुसार जेलबाट भागेर फर्किएपछि सन्तबहादुर र उनकी श्रीमतीबीच विवाद भएको थियो। सोही विवादका कारण हत्या भएको अनुमान प्रहरीले गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ भने फरार सन्तबहादुरको खोजी तीव्र पारिएको जनाएको छ।





Write your Comment