मन्त्री घिसिङको स्थलगत अनुगमन : सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारमा ४५ प्रतिशत प्रगति

रातोघर

 २०८२ आश्विन ६, सोमबार  मा प्रकाशित
१४८ पाठक संख्या


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडक विस्तारको प्रगतिबारे स्थलगत जानकारी लिएका छन् ।

अनुगमनका क्रममा उनले मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गर्दै निर्माण कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । चाडपर्वलाई ख्याल राखी खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात सहज बनाउन, जनशक्ति र उपकरण थप गरी कामलाई पूर्ण रूपमा परिचालन गर्न तथा चालू आर्थिक वर्षभित्रै सडक विस्तार सम्पन्न गर्न उनले निर्देशन दिए ।

१५.८ किलोमिटर लामो यो सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । यसमध्ये सूर्यविनायक–साँगा खण्ड (८.३ किमी) मा ३९ प्रतिशत र साँगा–धुलिखेल खण्ड (७.५ किमी) मा ५१ प्रतिशत प्रगति भएको छ । समग्रमा आयोजना ४५ प्रतिशत सम्पन्न भएको बताइएको छ ।

हालसम्म टेवा पर्खाल तथा नाली निर्माणको ८० प्रतिशत काम सकिएको छ भने करिब १ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । तर सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या र बजेट अभावका कारण काम प्रभावित भएको आयोजनाले जनाएको छ ।

बजेटको अभाव हुन नदिने आश्वासन मन्त्री घिसिङले दिएका छन् । सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार चालू आर्थिक वर्षमा परियोजनाका लागि करिब ३ अर्ब रुपैयाँ आवश्यक परेपनि हालसम्म ५० करोड मात्र विनियोजन गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban